उर्लाबारीको सन्थाल बस्तीमा शहरी विकास मन्त्री ः एकिकृत बस्ती विकासको प्रतिबद्धता

झापा, १० मङ्सिर । सरकारले सन्थाल जातिको विकास गर्न एकिकृत बस्ती निर्माण गर्ने भएको छ । उर्लाबारीको नगरपालिका–८ स्थित नदी किनारामा बस्दै आएका सन्थाल जातिको प्रस्ताबित एकिकृत बस्तीको अवलोकन पछि शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले सो क्षेत्रमा व्यवस्थित एकिकृत बस्ती विकास गर्ने जानकारी दिनुभएको हो ।

बस्तीमा बसेका करिब ७० घर परिवारको दयनीय अवस्था देखेपछि आफुसंगै अवलोकनमा आएका सचिव डा. रमेशप्रसाद सिंह सहितको टोलीलाई मन्त्री श्रेष्ठले तत्काल एकिकृत बस्ती बिकासका लागि कार्ययोजना तयार गर्न निर्देशन दिनुभएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले सन्थाल जातिको उत्थान र विकास गर्न एकिकृत बस्ती निर्माण गरी उनीरुहको जीविकोपार्जनको विकल्प तयार गर्र्नुपर्ने विषयमा चासो देखाएपछि मन्त्री श्रेष्ठ, सचिव डा सिंह, शहरी विकास तथा भवन विभागका उच्च अधिकारी सहितको टोली झापाको उर्लाबारी स्थित सन्थाल बस्ती पुगेका थिए ।

नदी उकास क्षेत्रमा नरकट र खरको छानाले बारेर बनाएको घरमा बस्दै आएका बस्तीको अवलोकन गर्दै मन्त्री श्रेष्ठले भन्नुभयो – ‘तपाईहरुको समस्याको समाधान हुन्छ , राष्ट्रपति र प्रधानमन्त्री ज्युले समेत यो विषय र बस्तीमा तपाईको अवस्थाबारे चासो देखाउनुभएको छ ,यस्तो अवस्था बुझेर दुःखित हुनुभएको छ । ‘उहाहरुले मन्त्रालयलाई एकिकृत बस्ती विकास गरी व्यवस्थित बसोबास गराउन आग्रह गर्नुभएको छ । सोही आग्रह अनुसार म सहितको टोली तपाईको बस्तीमा आएका हौ– मन्त्री श्रेष्ठले भन्नुभयो । उहाले अब यो बस्तीले मुहार फेर्ने छ भन्नुभयो । मन्त्री सहितको टोली सन्थाल बस्तीमा पुग्नासाथ भावविब्हल भएका सन्थालवासीले मन्त्री श्रेष्ठलाई आफ्नो समस्या सुनाएका थिए । लगत्तै मन्त्री श्रेष्ठले आश्वासन दिदै भन्नुभयो–तपाईहरुको अवस्था मैले देखेको छु ,सरकारले तपाईहरुलाई व्यवस्थित घर बनाएर राख्नेछ । केहीवर्ष अघि आएको बाढीले बस्ती बगाएपछि बस्ती बगाएकै नदीको तटबन्धमा पुनः बस्ती बनाएर बसेका सन्थाल जातिले आफुहरुलाई सोही क्षेत्रमा व्यवस्थित बस्ती बनाइदिन आग्रह गरेका थिए ।

मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिहले तत्काल कार्यदल बनाएर एक्सनमा जाने बताउनुभयो । भन्नुभयो, कार्ययोजना बनाउन समिति बनाउनेछौ, समितिले दिएको प्रतिवेदनको आधारमा काम अघि बढाउनेछौ । उहाँले सरकारले उच्च प्राथमिकतामा राखेको प्रस्ताबित एकिकृत बस्तीलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेर व्यवस्थित गर्ने बताउनुभयो । उहाले भन्नुभयो – केही दिनपछि प्राविधिक टोलीले यहा आएर अध्ययन गर्नेछ । जग्गा प्राप्तिको प्रकृया अघि बढाउनेछ ।

मन्त्रालयका सहसचिव सुरेन्द्रमोहन श्रेष्ठले सिमान्तकृत र लोपोन्मुख जातिको बस्दै आएका क्षेत्रको एकिकृत बस्ती विकास गर्न योजना तयार गर्ने बताउनुभयो । झापा, मोरङ र सुनसरीमा यो जाति बसोबास गरेका छन् ।

हाल झापामा बस्दै आएका सन्थालले नदी छेउमा तटबन्ध बनाएर टहरा तयार गरेका छन् । उनीहरुले माछा मारेर र सामान्य मजदुरी काम गरेर गुजारा गरिरहेका छन् । बिसं २०६२ सालको राष्ट्रिय जनगणना अनुसार देशभर करिब ५४ हजार जनसंख्या रहेको सन्थाल जाति मध्य झापामा बसोबास गर्दै आएका उनीहरुको अवस्था दयनीय रहेको छ । मन्त्रालयका सचिव सिहले एकिकृत बस्ती विकासको लागि तत्काल टोली पठाएर अध्ययन शुरु गरिने जानकारी दिनुभयो । भन्नुभयो–कहा , कुन मोडलमा जग्गा अधिग्रहण गर्नm सकिन्छ सबै विकल्पको बारेमा अध्ययन गर्नेछौ ।

Advertisment