स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन मन्त्रालयको निर्देशन

काठमाडौँ, १२ मङ्सिर । स्वास्थ्यकर्मीले कोरोना महामारीमा काम गर्दाको जोखिम भत्ता नपाएको गुनासो गरिरहेको बेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता प्रदान गर्न निर्देशन दिएको छ ।

मन्त्रालयको आज भएको सचिवस्तरीय बैठकले जोखिम भत्ता उपलब्ध गराउन निर्देशन दिएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोनाको उपचारमा संलग्न भएर काम गर्ने कर्मचारीको असोजसम्मको जोखिम भत्ता उपलब्ध गराउन सो भत्ता सबै अस्पताललाई पठाइसकेको जानकारी दिनुभयो ।

मन्त्रालयले असोजसम्मको कोभिड सङ्क्रमितको उपचार खर्चसहित जोखिम भत्ता रु ६६ करोड ८७ लाख ४५ हजार अस्पतालमा पठाइसकेको बताइएको छ । मन्त्रालयले कात्तिकको जोखिम भत्ता र सङ्क्रमितको उपचार खर्चको रकम पठाउने क्रममा रहेको छ ।

कोरोना उपचारमा खटिने स्वास्थ्यकर्मीलाई ५० देखि शतप्रतिशत जोखिम भत्ता उपलब्ध गराउने यसअघिको आदेशमा भनिएको छ ।

Advertisment