पर्यटकको भीड लाग्ने मानहुँकोटको विकास गर्ने काँग्रेस वरिष्ठ नेता पौडेलको प्रतिबद्धता

दमौली, १६ मङ्सिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलेले व्यास नगरपालिका–५ स्थित मानहुँकोटको पर्यटन पूर्वाधार विकास गर्न मङ्गलबार स्थलगत अध्ययन गर्नु भएको छ । मानहुँमा दैनिक सयौ पर्यटक पुग्नथालेपछि यसको पूर्वाधार विकाको खोजी भइरहेको बेला वरिष्ठ नेता पौडेलले सो स्थलको अवलोकन एवं त्यस क्षेत्रका जनतासँग परामर्श गर्नुभएको हो ।
मानहुँ जाने सडक खोली बहुवर्षिय योजनामा पारी कालोपत्रे गर्ने, तत्कालको खानेपानी समस्या न्यूनिकरणको लागि आकाशेपानी सङ्कलन गर्ने जस्ता पूर्वाधारको ध्यान दिएको स्मरण गर्दै वरिष्ठ नेता पौडेलले सो अवसरमा लिफ्टटिङ खानेपानी योजना र व्यवस्थित पार्किङस्थल बनाउन जरुरी देखिएको बताउँनुभयो । झल्झलाउँदो हिमाल, उर्लेर आउने नदी,खोला, उच्च हरिया पहाड र जडिबुटीहरुको सदुपयोग गरेर सुखी नेपाली समृद्ध नेपाल बनाउन सकिने वरिष्ठ नेता पौडेलले बताउनुभयो । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले २०६३ सालमा पहिलो पटक दमौलीमा गरिएको तनहुँ महोत्सवमा मानहुँलाई चिनाउने काम गरेको जानकारी दिनुभयो । कार्यक्रममा व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले व्यास नगरपालिकाले पर्यटन विकासलाई प्राथमिकता दिँदै पर्यटकीय पूर्वाधारहरु थप गर्दै लगिएको बताउनुभयो । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सोचे भन्दा बढी मानिस आएकाले पर्यटन प्रवद्र्धनका गर्न तत्काललाई ३० लाख रुपियाँ विनियोजन गरिएको जानकारी दिनुभयो । बोर्ड बैठकले शौचालय, खानेपानी व्यवस्थापननको लागि तत्कालै २५ लाख र गुरुयोजनाको लागि ५ लाख गरी उक्त रकम व्यवस्था गरेको नगरप्रमुख न्यौपानेले बताउनुभयो ।

हरेक शहिद दिवसमा मानहुँबाट शहिदहरुको गाउँ पुलिम¥याङसम्म म्याराथन दौड प्रतियोगिता गरिएको नगरप्रमुख न्यौपानेले बताए । २५ लाखको लागतमा रेलिङबार निर्माण गरिएको र ३७ लाखमा भ्यूटार, चमेना गृह निर्माण भईरहेको वरिष्ठ नेता पौडेललाई जानकारी दिनुभयो । साथै नगरप्रमुख न्यौपानेले मानहुँकोटको सार्वजानिक जग्गा संरक्षण गर्न दुई महिना सम्मको लागि जग्गा किनबेचको लागि प्रतिबन्ध लगाइएको जानकारी दिनुभयो । कार्यक्रम मानहुँकोट पर्यटन विकास समितिका अध्यक्ष वीरबहादुर थापाले मानहुँको गुरुयोजना वरिष्ठ नेता पौडेललाई हस्तान्तरण गर्नुभयो ।

मानहुँकोटबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ लगायतका हिमशृङ्खला देखिन्छ । सदरमुकाम दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युतको ड्याम र निर्माण स्थल लगायतको मनोरम ठाउँ देखिन्छ । मानहुँबाट व्यास नगरपालिकाको १४ वटै वडा देखिन्छ । यसैबीच वरिष्ठ नेता पौडेलले व्यास नगरपालिका–५ स्थित निर्माणधिन पराशर पार्कमा सेती नदीको कटानले पारेको असरको बारेमा जानकारी लिनुभएको छ । तनहुँ जलविद्युत आयोजनाको काम ढिला शुरु भएकोले आयोजनाको सामाजिक उत्तरदायित्वको काम पनि ढिला हुँदा तटबन्धन गर्न ढिलो भएको बताउनुभयो ।

Advertisment