अर्को साताबाट नेपाल भारत उडान सञ्चालनको तयारी


काठमाडाँैं, १७ मङ्सिर । कोरोनाका कारण रोकिएको नेपाल भारत उडान यथाशीघ्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट दिल्ली–काठमाडौँ उडानका लागि अनुमति दिने तयारी गरेको बुझिएको छ । मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले नेपाल–भारत उडानको टुङ्गो लागेको र अबको सातदेखि दश दिनभित्रमा उडान शुरु हुने जानकारी दिँदै शुरुआती चरणमा एउटा नेपाली वायुसेवा कम्पनीको र अर्को भारतीय एयरलाइन्सले उडान गर्नेछन् । पछि दुबै देशले आवश्यकताको आधारमा उडान बढाउन सक्नेछन् ।

कोभिड महामारी नियन्त्रणका लागि गत चैत ११ देखि देशभर लागू गरिएको बन्दाबन्दी र त्यसपछिको निषेधाज्ञाका कारण करिब ६ महिनापछि गत भदौँ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान शुरु भएको थियो । गत मङ्सिर १० को मन्त्रिपरिषद् बैठकले भारतले प्रस्ताव गरेको ‘एयर बबल मोडल’ लाई स्वीकार गर्ने निर्णय गरेको थियो । अरु देशको हकमा भने मन्त्रालयले आवश्यकताका आधारमा उडान सञ्चालन अनुमति दिनसक्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

आन्तरिक हवाई उडान भने उत्साहप्रद रहेको वायुसेवा सञ्चालकहरुले जनाएका छन् । ठूला एयरलाइन्स बुद्ध, यती र श्री एयरलाइन्सको उडान अकुपेन्सी झण्डै ९० प्रतिशत रहेको सम्बन्धित कम्पनीले जनाएका छन् । बुद्धले मात्र अहिले दैनिक चार हजार ८०० सम्म यात्रु बोक्ने गरेको छ । जबकी बुद्धले सामान्य अवस्थामा दैनिक पाँच हजार ५५५ देखि ६ हजारसम्म यात्रु बोक्ने गरेको थियो । आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।

Advertisment