काँग्रेसद्धारा तनहुँ घट्ना विरुद्ध २९ गते विरोध प्रदर्शन र संसद बैठक तत्काल बोलाउन माग

नेपाली काँग्रेसले तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुव्र्यवहार र भ्रष्टाचार लगायतका विरुद्ध मङ्सिर २९ गते ७७ जिल्लामा विरोध प्रदर्शन गर्ने भएको छ । पार्टीको पदाधिकारीहरुको शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो । साथै देशभर उठेका ज्वलन्त विषयबारे छलफल गर्न अविलम्व संसद बैठक बोलाउन पनि सरकार र सभामुखसमक्ष आग्रह गर्ने निर्णय गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

वर्तमान कम्युनिष्ट सरकार निरन्तर रुपमा दमन, भ्रष्टाचार र कोभिड—१९ को अव्यवस्थापनको पर्यायवाची बनेको, यी विषयहरुमा नेपाली कांग्रेसले निरन्तर रुपमा सरकारलाई खबरदारी गर्दै आएको तथा यसका वावजुद देशमा यी प्रवृत्तिहरु घट्नुको साटो बढ्दै गएको आरोप लगाउँदै काँग्रेसले पार्टी सरकारको अधिनायकवादी चिन्तन र ब्यवहारका विरुद्ध संघर्षरत छ भने अर्कातर्फ प्रतिगमनका आकांक्षाहरु र सबै खाले भ्रष्टाचार एवं बेथिति विरुद्धमा एक ढिक्का रहेर सडक देखि संसदसम्म प्रस्तुत हुन लाग्दैछ भन्दै बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सम्वर्धन नेपाली कांग्रेसकै ऐतिहासिक अभिभारा रहेकोे तथ्यमा प्रष्ट रहेको जनाएको छ ।

“राष्ट्रिय रूपमा उठेका जीवन्त प्रश्नहरू संगै देश र जनताका ज्वलन्त विषयहरुमा छलफल गर्न संघीय संसदको बैठक बस्न अत्यावश्यक भएकोले संसद बैठक अविलम्ब बोलाउन सरकार र सभामुख समक्ष माग गर्ने”, काँग्रेसको निर्णयमा भनिएको छ ।

त्यस्तै तनहुँमा गत १७ गते सरकारले प्रस्तुत गरेको दमनकारी ब्यवहार लगायत देशको विभिन्न भागमा पटक–पटक सरकारबाट प्रस्तुत विभेद, पक्षपात र सर्वसत्तावादी प्रवृत्ति तथा कोभिड—१९ को नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासिनता र अकर्मण्यता तथा स्वास्थ सामग्री खरिदमा गरिएको भ्रष्टाचार देखि अनेकन भ्रष्टाचार काण्ड र बेथिति विरुद्ध यहि मंसिर २९ गते ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने पनि काँग्रेसले जनाएको छ ।

Advertisment