जाउँ है पोखरा अभियान विरगंजमा : पोखरा-सिमरा सिधा हवाइ सेवा भएमा भारतीय तथा स्थानीय पर्यटकलाई पोखरा पुग्न धेरै सहज हुने

विरगंज, २५ मंसिर । कोभिड- १९ बाट मुर्छित् पर्यटनलाई जगाउने उद्देश्यले संचालित जाउँ है पोखरा अभियान अन्तर्गत विरगंजमा बुधबार आयोजित कार्यक्रममा सिमरा-पोखरा सिधा हवाई उडानमा जोड दिइएको छ । पश्चिमान्चल होटल संघ पोखराद्वारा संचालित चार दिने सो अभियानको १५ सदश्यीय टोलीसँग विरगंज उद्धोग वाणिज्य संघले औद्धोगिक नगरी विरगंजमा एक अन्तरक्रिया कार्यक्रम गरेको थियो ।
कार्यक्रममा पश्चिमान्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले उल्लेखित दुई शहर विच सिधा हवाई सेवा सुरु भए भारतीय तथा स्थानीय पर्यटकलाई पोखरा पुग्न धेरै सहज हुने भनाई राखे । विरगंज उद्धोग वाणिज्य संघका अध्यक्ष एवं नेपाल उद्धोग वाणिज्य महासंघका कार्यकारी सदस्य गोपाल केडियाले हप्तामा कम्तिमा एक-एकवटा भए पनि दुई शहर विच उडान हुन जरुरी भएको भनाई राखे । “उडानमा घाटा भए  हामी क्षतिपूर्ती वहन गरिदिन तयार छौं,”उनले भने ।
तत्कालिन पर्यटन मन्त्री स्वर्गीय रवीन्द्र अधिकारी र गण्डकी प्रदेशका उद्धोग, पर्यटन, बन तथा वातावरण मान्त्री विकास लम्सालले समेत सिधा उडानको कुरा गरे पनि कार्यान्वयन नहुनु दु:खद भएको विरगंजका व्य्वसायीले गुनासो गरे । प्रदेश २ का उद्दोग, पर्यटन, बन तथा वातावरण राज्य मन्त्री सुरेशकुमार मण्डलले उद्धोग, पर्यटन र कृषिलाई आफ्नो प्रदेशले विशेष जोड दिएको भन्दै होटल संघको प्रबर्द्धनात्मक अभियान प्रशंसायोग्य भएको बताए । विरगंज र जनकपुर धार्मिक र अन्य पर्यटनको हिसावले समेत महत्वपूपुर्ण भएको भन्दै उनले प्रदेश २ सरकार गण्डकी प्रदेश सरकारसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए । जनकपुर र पोखरा हवाई सेवाले जोड्ने निर्णय भईसकेको दावी उनले कार्यक्रममा सुनाए ।
पोखरेली पर्यटनबारे थप प्रस्ट्याउँदै अध्यक्ष तुलाचनले आन्तरिक पर्यटनको माहोल सिर्जना गर्न जाउँ है पोखरा अभियान तत्कालिन अवस्थामा सुरु गरिएको र सधैं अब कोरोना भनेर व्यवसाय र प्रबर्द्धन ठप्प राख्दा जीवन चल्न नै कठीन हुन थालेको भन्दै भ्रमणको सुरुवात पुनः आफैंबाट गरेको बताए । विरगंज अपार संभावना बोकेको शहर भएको स्मरण पनि तुलाचनले सो अवसरमा गराए । संकटको यो घडीमा पर्यटनलाई पुनर्जीवन दिन पोखराको पर्यटकीय सेवा सुविधामा ५० प्रतिशत सम्म छुट सहितको मूल्य निर्धारण गरिएको पनि अध्यक्ष तुलाचनले जानकारी दिए ।  यसअघि बुधबार नै पर्सा राष्ट्रिय निकुन्जमा अभियानको टोलीलाई स्वागत गरिएको थियो । सो अवसरमा बोल्दै अभियानका संयोजक  एवं होटल संघ नेपालका केन्द्रीय सदश्य भरतराज पराजुलीले पर्यटनका लागि प्रबर्द्धन र पहुँच अति आबश्यक पर्ने भन्दै नेपाली पनि पर्यटक हुन सक्ने अवधाराणासहित अभियानको थालनी गरिएको जानकारी दिए । सिमरा र पोखरा हवाई सेवाले जोडिए त्यस्तो पहुँचमा ठूलो फड्को हुने भनाई उनको थियो ।
स्थानीय होटल संघका अध्यक्ष मोहन शर्मा, सहायक संरक्षण अधिकृत रमेश यादव, रेन्जर प्रकाश पुन र व्यवसायी प्रकश लम्सालले पनि सो अवसरमा भनाई राखेका थिए । नेपाल पर्यटन बोर्डका कार्यकारी सदश्य विप्लव पौडेल र पश्चिमान्चल होटल संघ पोखराका सल्लाहकार हरि शर्मा गैह्रे पनि अभियानको टोलीसँगै छन् । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा यसपटक बुधबारबाट सुरु गरिएको अभियान अन्तर्गत सिमरा, विरगंज, जनकपुर, बिराटनगर र चितवन जस्ता शहर समेटिएको छ । ती शहरमा पत्रकार सम्मेलन र अन्तरक्रिया कार्यक्रम आयोजना तथा पोखरा सम्बन्धी प्रबर्द्धनात्मक सामग्री वितरण जस्ता कार्यक्रम पनि रहेका छन् ।

Advertisment