देउवाको पछिल्लो गतिविधिमाथि केन्द्रीय कमिटीमा कुरा उठ्ने : सुजाता कोइराला

काठमाडौं, २९ पौष । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले रिपोर्टर्स क्लब नेपालमा बोल्दै देशमा रक्तपात हुनबाट जोगाउन संसद पुनःस्थापनाको विकल्प नभएको बताइन् ।
सभापति शेरबहादुर देउवा संविधानको विपक्षमा उभिएर गम्भीर गल्ती गरिरहेको कोइरालाको टिप्पणी थियो । असंवैधानिक तरिकाले संसद बिघटन गरिएको अवस्थामा देउवाले चुनावको कुरा गर्नुले आशंका उत्पन्न भएको समेत बताइन् । उनले देउवाको पछिल्लो गतिविधिमाथि केन्द्रीय कमिटी बैठकमा कुरा उठ्ने समेत बताइन् । ‘शेरबहादुर देउवाजी किन संविधानको पक्षमा हुनुहुन्न?ओलीको किन पछि लागिरहनुभएको छ आश्चर्य लागेको छ,’ पूर्व उपप्रधानमन्त्री कोइरालाले भनिन । आफैले ल्याएको संविधान र संसदको विपक्षमा किन बोलिराख्नुभएको छ, त्यो गलत हो ।’ ३० वर्ष देखि देउवा बारम्बार प्रधानमन्त्री बन्दै आएको स्मरण गराउँदै भनिन्,‘ ३० वर्ष देखि देउवाजी प्रधानमन्त्री बन्दै आउनुभएको छ । फेरि फेरि तपाईं नै प्रधानमन्त्री बन्नुहोस् तर संसद पुनःस्थापना गर्नुहोस् ।’

संसदको बिघटन राजनीतिक निर्णय भएकाले सडक आन्दोलनबाट भएपनि पुनःस्थापना गर्ने बताइन् । उनले काँग्रेस संसद पुनःस्थापनाको पक्षमा आन्दोलनमा गइसकेको बताइन् । संसद पुनःस्थापना विना काँग्रेस चुनावमा नजाने स्पष्ट पारिन् । उनले भनिन्,‘आन्दोलनमा गएर भएपनि संसद पुनःस्थापना गर्छौं ।’ आफूहरुले अदालतको फैसला पर्खिरहेको समेत कोइरालाले बताइन् ।

ओली सरकार कामचलाऊ भएकाले भारतसँग गम्भीर र संवेदनशील विषयमा कुनैपनि सम्झौता गर्न नसक्ने बताइन् । कम्युनिस्टहरुको झगडाले देश धरापमा परेको बताइन् । देशलाई संकटबाट जोगाउन ढिलो गर्न नहुने बताइन् । ओलीको क्रियाकलापविरुद्ध सबै राजनीतिक दल र शक्ति एक ठाउँमा उभिनुपर्नेमा उनको जोड थियो । संसद पुनःस्थापनामा सबै एकढिक्का हुनुको विकल्प नभएकोमा जोड दिइन् । विगतमा गिरिजाप्रसाद कोइरालाले अडान लिएर संसद पुनःस्थापना गरी संविधान र देशलाई सही ट्रयाकमा ल्याएको स्मरण गराइन् ।

Advertisment