जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटरलाई प्रशिक्षण

काठमाण्डौ, २९ पुस । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता नामावली अद्यावधिक (दाबी विरोध सहित) कार्यक्रम, २०७७ र मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम, २०७७ कार्यान्वयन सम्बन्धी अनलाइन प्रविधि मार्फत दोस्रो समूहमा प्रदेश नं. १, प्रदेश नं. २ र बागमती प्रदेश स्थित जिल्ला निर्वाचन कार्यालयमा कार्यरत कम्प्युटर अपरेटरहरूका लागि सञ्चालित १ (एक) दिने प्रशिक्षण कार्यक्रमको आज उद्घाटन गर्नुभएको छ ।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्तले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रुपले निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचनको पूर्वशर्तको रुपमा रहेको मतदाता नामावली अद्यावधिक गर्ने र मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन सम्बन्धी कार्य सबै सरोकारवालाहरूसँग प्रभावकारी समन्वय गरी जिम्मेवारीपूर्ण रुपमा सम्पादन गर्नुपर्ने कुरा बताउनुभयो । मतदाता नामावली ऐन, २०७३ बमोजिम कुनै निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता गर्न नसकिने तर निर्वाचन प्रयोजनका लागि मतदाता नामावली अद्यावधिक गरिने व्यवस्था अनुसार मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने र दाबी विरोधका कार्यक्रम मात्र सञ्चालन गरिने कुरा उहाँले बताउनुभयो । निर्वाचन व्यवस्थापनमा सुधार गर्नका लागि आयोगको तेस्रो पञ्चवर्षीय रणनीतिक योजनामा उल्लेख भए बमोजिम आयोगका गतिविधिहरूमा प्रविधिको प्रयोगको विस्तार बढाउँदै लगिने कुरा उहाँले व्यक्त गर्नुभयो ।

निर्वाचनले लोकतन्त्रलाई बलियो बनाई सुशासन कायम गर्न सहयोग पु¥याउने भएको हुँदा आयोगलाई प्राप्त संवैधानिक जिम्मेवारी बमोजिमका निर्वाचन सम्पन्न गर्न गराउनु आयोगको प्रमुख कर्तव्य भएको र यसै सन्दर्भमा निर्वाचन व्यवस्थापनको आधारभूत पक्षको रुपमा रहेको मतदाता नामावली शुद्ध र त्रुटिरहित बनाउन एवम् मतदाताको हितलाई ध्यान दिई सुरक्षित, पहुँचयोग्य, विवादरहित र पायक पर्ने स्थानमा मतदानस्थल निर्धारण गर्नु पर्ने कुरामा उहाँले जोड दिनुभयो । सबै नागरिकको सहजताका लागि आयोगले स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्न लागिएको बताउँदै उहाँले सम्पूर्ण नागरिकलाई यो अवसरको सदुपयोग गर्न अनुरोध गर्नुभयो । विगतमा सञ्चालित निर्वाचनका लागि निर्धारण गरिएका मतदानस्थलहरूको बारेमा निर्वाचनका सरोकारवालाहरूबाट प्राप्त सुझावहरूको आधारमा ती स्थलहरूमा पुनरावलोकनको लागि यो कार्यक्रम ल्याइएको बताउँदै उहाँले कोभिडको कारणले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै प्रभावकारी रुपले कार्यक्रम सञ्चालन गर्न सम्पूर्ण सहभागीहरूलाई निर्देशन दिनुभयो ।

Advertisment