सङ्घर्षबाट प्राप्त गणतन्त्रलाई कसैको इशारा वा कसैको निजी स्वार्थका लागि प्रतिगमनतर्फ जान नदिइने : प्रधानमन्त्री

काठमाडौँ, ३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त गणतन्त्रलाई कसैको इशारा वा कसैको निजी स्वार्थका लागि प्रतिगमनतर्फ जान नदिइने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नं १ को आज काठमाडौँमा उपलब्ध कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै सो पार्टीका अध्यक्ष ओलीले सुशासन र विकासका प्रयास भइरहेका बेला कोरोना महामारी र सत्तारुढ दलभित्रको विवादले केही प्रतिकूलता सिर्जना गरे पनि यसलाई चिर्दै सरकार अघि बढेको स्पष्ट गर्नुभयो ।
उहाँले निर्वाचन नै नचाहिने र एकपल्ट पनि सूर्य चिन्हबाट निर्वाचन नलडेकाहरु पार्टीको बैठकमा नआएर अहिले सूर्य चिन्ह चाहियो भन्दै किन निर्वाचन आयोगमा पुगेको ? भनी प्रश्न गर्नुभयो ।

अध्यक्ष ओलीले कोभिड–१९ विरुद्धको खोप निकट भविष्यमा आउने र त्यसपछि विकासको गतिलाई तीव्रता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेकपाका नेता सुवासचन्द्र नेम्वाङले ओली नेतृत्वको नेकपाले नै आधिकारिकता र सूर्य चिन्ह पाउने भएकाले ढुक्क भएर निर्वाचनमा होमिन कार्यकर्तालाई आग्रह गर्नुभयो ।

Advertisment