ह्वाइट हाउसबाट ट्रम्पको बहिर्गमन, बाइडेनको प्रवेश

वासिङ्टन, ८ माघ । अमेरिकाका ४५औँ राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट बुधबार बाहिरिनु भएको छ ।लामो समयदेखिको परम्परालाई तोड्दै उहाँले नयाँ राष्ट्रपतिको स्वागत समारोहमा सहभागी नभई ह्वाइट हाउसबाट बाहिरिनु भएको हो ।

यसअघि नयाँ राष्ट्रपतिलाई निवर्तमान राष्ट्रपतिले स्वागत गर्दै आफूले ह्वाइट हाउस छोड्ने परम्परा रहँदै आएको थियो । चर्चित व्यवसायीसमेत रहनु भएका ७४ वर्षीय ट्रम्पको बहिर्गमनसँगै अमेरिकी इतिहासमा अत्यधिक विवाद र चर्चामा रहेको ट्रम्पको चारवर्षे कार्यकाल सकिएको छ । ट्रम्पको ठाउँमा उहाँको उत्तराधिकारीको रूपमा ४६औँ राष्ट्रपति बनेर जो बाइडेनको प्रवेश भएको छ । ट्रम्प रिपब्लिकनको तर्फबाट राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो भने बाइडेन डेमोक्र्याटको तर्फबाट निर्वाचित हुनुभएको हो ।

अमेरिकाको स्थानीय समयअनुसार बुधबार बिहान ८.१५ बजे उहाँ आफ्नी श्रीमतीसहित बाहिरिनु भएको हो । उहाँ हेलिकोप्टरमा चढेर फ्लोरिडा जानु भएको हो । कार्यालयबाट बाहिरिनु अघि भएको भेलामा उहाँले भन्नुभयो, “म केबल गुडबाई भन्न चाहन्छु, ह्वाइट हाउसमा रहँदाको समयअवधिलाई जीवनभरी स्मरण गरिरहने छु, यो अविश्मरणीय छ ।” पूर्व उपराष्ट्रपतिसमेत रहनु भएका नवनिर्वाचित राष्ट्रपति ७८ वर्षीय वाइडेनले दिउँसो शपथग्रहण गरिरहेका बेला ट्रम्प भने फ्लोरिडास्थित आफ्नो रिसोर्टमा रहने जनाइएको छ ।

वाइडेनसँगै उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले पनि बुधबारसँगै शपथग्रहण गर्ने कार्यक्रम रहेको छ ।निकै प्रतिस्पर्धात्मक भएको चुनावमा धाँधली भएको भन्दै ट्रम्पले आफ्नो कार्यकालका अन्तिम दिनहरूमा अमेरिकी लोकतन्त्रकै आधारमाथि प्रहार गर्नुभएको थियो ।

अमेरिकी निर्वाचन प्रणालीलाई तेस्रो विश्वका देशसँग तुलना गर्नुभएका राष्ट्रपति ट्रम्पले औपचारिक रूपमा हार स्वीकार नगर्ने मात्र होइन, आफ्ना प्रतिद्वन्द्वी बाइडेनलाई जीतका लागि बधाइसमेत नदिई उहाँ बिदा हुनुभएको हो ।

Advertisment