काठमाडौं, ११ माघ । नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्न भन्सार विभाग र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहतको दुई विभाग र एक कार्यालयबीच समझदारी भएको छ । आइतबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आयोजित एक कार्यक्रममा भन्सार विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लान्ट क्वारेन्टाइन तथा विषादि व्यवस्थापन केन्द्रबीच नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
![](http://www.jyotikhabar.com/wp-content/uploads/2019/05/ligicbit.png)
राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन आयोजनाका तर्फबाट भन्सार विभागका महानिर्देशक सुमन दाहाल र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उपेन्द्र राय, पशु सेवा विभागका निमित्त महानिर्देशक डा.दमयन्ती श्रेष्ठ र प्लान्ट क्वारेन्टाइन तथा विषादि व्यवस्थापन केन्द्रका प्रमुख डा.सहदेव हुमागाईले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।
त्यस अवसरमा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले एकद्वार प्रणालीको लागू गर्ने कार्य अन्तराष्ट्रिय व्यापार सम्बन्धमा समान धरातल निर्माण तर्फको एउटा खुड्किलो भएको बताउनुभयो । व्यापारघाटालाई समेत सन्तुलनमा ल्याउन सहजीकरणको भूमिका निर्वाह गर्न मन्त्री अर्यालले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘यसले भन्सारबाट जाँचपास कार्य सहजरुपमा सम्पन्न गर्न सकिनेछ । अन्तराष्ट्रिय व्यापार सम्बन्धमा समान धरातल निर्माण तर्फको महत्वपूर्ण खुड्किलोका रुपमा हामीले यसलाई दिएका छौ ।’
![](http://www.jyotikhabar.com/wp-content/uploads/2019/05/ligicbit.png)
मन्त्री अर्यालले कार्यान्वयनको चरणमा रहेको कागजरहित अन्तर्राष्ट्रिय व्यापार सेवा प्रदान गर्ने प्रणालीले व्यापार सहजीकरणका लागि कोशेढुंगा हुने समेत बताउनुभयो । समयानुसार प्रविधिको प्रयोग गरेर कागजरहित सेवा प्रदान गर्दा व्यापार बढ्ने उहाँको भनाइ थियो । ‘हरेक क्षेत्रका बेथितिको अन्त्य प्रविधिबाट नै गर्ने हो । आयात र निर्यातसँग जोडिएका बेथितीको अन्त्य गर्न यसले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ’, मन्त्री अर्यालले भन्नुभयो, ‘आर्थिक उदारीकरण र खुला बजारमा हामी गइसकेको अवस्थामा हामीले हाम्रा प्रतिस्पर्धी क्षमतालाई हरेक ढंगले विकास गर्न जरुरी छ ।’
यसैगरी त्यस अवसरमा बोल्दै कृषि मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीले कृषि क्षेत्रसँग सम्बन्धित अन्र्तराष्ट्रिय व्यापारमा अब सहजता आउने बताउनुभयो । एकद्वार प्रणालीमार्फत सेवाग्राहीले सरल ढंगबाट सेवा पाउने बताउदै उहाँले प्रविधिको उच्चतम प्रयोग अहिलेको आवश्यकता भएको बताउनुभयो । यस्तै एकद्वार प्रणाली कार्यान्वयन आयोजनाको तर्फबाट कार्यक्रममा बोल्दै भन्सार विभागका महानिर्देशक सुमन दाहालले अन्तर्राष्ट्रिय व्यापार सहजीकरणको नयाँ युग सुरु हुनै लागेको बताउनुभयो । केही समयमै कार्यान्वयनमा आउने एकद्वार प्रणालीले एकआपसमा सम्बन्ध बिस्तार मात्र नभएर कामकारबाहीमा ठूलोृ परिवर्तन हुने बताउनुभयो ।