काँग्रेसले संसद विघटन विरुद्ध माघ १९, २४ र फागुन ३ गते विरोध कार्यक्रम गर्ने

काठमाडौँ, १३ माघ । नेपाली काँग्रेसले केपी शर्मा ओली सरकारले गरेको संसद विघटन विरुद्ध माघ १९, २४ र फागुन ३ गते विरोध कार्यक्रम गर्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको पार्टीको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको पार्टीद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । जसअनुसार माघ १९ गते सोमबार भ्रातृ संस्थाहरुले ७७ वटै जिल्लामा संयुक्त रुपले विरोध प्रदर्शन र विरोध सभाको आयोजना गर्ने छन् । त्यस्तै माघ २४ गते शनिबार शुभेच्छुक ंस्थाहरुले ७७ वटै जिल्लाहरुमा संयुक्त रुपले विरोध प्रदर्शन र विरोध सभाको आयोजना गर्नेछन भने फागुन ३ गते सोमबार जिल्ला कार्यसमितिहरुले जिल्ला सदरमुकाममा विरोध प्रदर्शन र सभाको आयोजना गर्ने जनाइएको छ।

केन्द्रबाट तोकिएका कार्यक्रम बाहेक जिल्ला कार्यसमिति लगायत पार्टीका विभिन्न निकाय र भ्रातृ एवं शुभेच्छुक संस्थाहरुले विरोधका कार्यक्रम तय गरी संचालन गर्ने काँग्रेसले निर्णय गरेका छ । छन् ।

यस अघि के.पी. शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक, सर्वसत्तावाद उन्मुख कदम एवं मुलुकमा व्याप्त भ्रष्टाचार, कोभिड—१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्ध नेपाली कांग्रेसले २०७७ पुस १३ गते १६५ संघीय निर्वाचन क्षेत्रहरुमा, पुस २५ गते ३३० प्रदेश सभा निर्वाचन क्षेत्रहरुमा, माघ ३ गते ७५३ पालिकाहरुमा र माघ ८ गते ६,७४३ वडाहरुमा विरोध प्रदर्शन र सभा व्यापक सहभागिताका साथ सफलतापूर्वक सम्पन्न भएको सो बैठकले विश्लेषण गरेको छ । साथैदेशव्यापी रूपमा भएका शान्तिपूर्ण प्रदर्शनले नेपाली जनताको भावना अभिब्यक्त गरेको
छ पार्टीको ठहर छ । महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गर्नु भएका प्रस्तावहरु बैठकबाट सर्वसम्मत् पारित भएको
जनाइएको छ । आजको बैठकमा नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्य नरहरि आचार्यले आफ्नो धारणा राख्नु भएको थियो ।

पार्टीले गरेको प्रस्ताव र निर्णय निम्नानुसार रहेको छ ।

समसामयिक प्रस्ताव
१. संसद विघटन विरुद्ध माघ १२ गते राजधानीमा समाजको विभिन्न क्षेत्रका नागरिकहरुले गरेको प्रदर्शनमा सरकारले बल प्रयोग गरेको घटनालाई बैठकले गम्भीरतापूर्वक लिएको
छ । असंवैधानिक कदम विरुद्धका प्रदर्शनहरु संविधानले प्रदान गरेको अधिकार हो । शान्तिपूर्ण ढंगले गरिएको प्रदर्शनमा लाठी चार्ज, अश्रुग्याँस तथा पानीको फोहरा प्रहार हुँदा घाइते भएका सबै आन्दोलनकारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यो बैठक सरकारले गरेको बल प्रयोगको घटनाप्रति निन्दा र भत्र्सना गर्दछ ।
२. प्रधानमन्त्री के.पी. शर्मा ओलीले पछिल्लो समय सार्वजनिक रुपमा व्यक्त गरिरहनु भएका अभिव्यक्तिहरुप्रति यो बैठकको ध्यानाकर्षण भएको छ । संसद विघटनको विरोध गर्नेहरु देश विरोधी हुन् भन्ने उहाँको अभिव्यक्ति अत्यन्तै अनुचित र अलोकतान्त्रिक छ । सम्मानीत सर्वोच्च अदालतमा जारी बहसलाई तमासाको संज्ञा, वरिष्ठ अधिवक्ताको अपमान, आलोचक पत्रकारहरुप्रति अशोभनीय टिप्पणी अनि आफूसँग अहसमत सबैथरी प्रति उहाँको तिक्त टिप्पणीले प्रधानमन्त्री पदको गरिमा राख्न उहाँ असफल भएको यो बैठकको निष्कर्ष छ ।
३. संसारको दोस्रो अग्लो हिमाल ‘के टु’ को सफल आरोहण गर्ने आरोही निर्मल पुर्जा सहित दश नेपाली युवालाई यो बैठक उच्च सम्मान सहित विशेष बधाई ज्ञापन गर्दछ ।

सांगठनिक निर्णय
५. नेपाली कांग्रेस स्थानीय तह संगठन पुनर्संरचनाको अन्तरिम व्यवस्था निर्देशिका २०७६ बमोजिम मुलुकको नयाँ संघीय संरचना अनुरुप पार्टीका स्थानीय सांगठनिक संरचनालाई समायोजन गर्नका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम पार्टीको केन्द्रीय निर्वाचन समितिलाई जिम्मेवारी प्रदान गरिएकोमा ७४ जिल्लामा समायोजनको कार्य पूरा गरी केन्द्रीय कार्यसमितिलाई २०७७÷९÷३ मा लिखित जानकारी गराएकोमा केन्द्रीय निर्वाचन समितिलाई हार्दिक धन्यवाद प्रकट गर्दै, केन्द्रीय निर्वाचन समितिबाट प्राप्त जानकारी अनुसार समायोजनको कार्य बाँकी रहेका तीन जिल्ला (सप्तरी, बारा र सिन्धुपाल्चोक) तथा समायोजनको कार्य सम्पन्न भएपछि पुनरावलोकनका लागि निवेदन प्राप्त भएका सिरहा, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, पर्सा, बाँके लगायतका जिल्लाको केही स्थानको पुनरावलोकन उपर समेत निर्णय गरी समायोजन सम्बन्धी वाँकी रहेका सम्पूर्ण कार्य केन्द्रीय निर्वाचन समितिबाट नै यथाशिघ्र सम्पन्न गर्ने ।
६. म्याद समाप्त भएका भ्रातृ संघको म्याद थप सम्बन्धमा ः
पार्टी आवद्ध भ्रातृ संघहरु— नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ्ग संघ र नेपाल ठाकुर समाजको पदावधि समाप्त भएको मितिले ६ महिनाका लागि थप गर्ने ।
७. विदेशस्थित नेपाली जनसम्पर्क समिति सम्बन्धी ः
(क) नेपाली जनसम्पर्क समिति कतार, वहराईन, मलेशिया र साउदी अरबबाट पार्टीको विधान र नियमावली बमोजिमको आवश्यक प्रक्रिया पु¥याई क्रियाशील सदस्यताको नयाँ र नविकरण तर्फको नामावलीको सूची र सो वापतको सदस्यता शुल्क समेत दाखिला हुन आएकोले उक्त जनसम्पर्क समितिहरुबाट प्राप्त क्रियाशील सदस्यतालाई स्वीकृत गर्ने ।
(ख) नेपाली कांग्रेसको नियमावली २०७६ को नियम २१ (१) बमोजिमको प्रक्रिया पुरा गरी यूरोपस्थित माल्टा देशमा बसोबास गरिरहेका लोकतन्त्रवादी नेपालीहरुको सक्रियतामा जनवरी २५, सन् २०२० मा नेपाली जनसम्पर्क तदर्थ समिति गठन गरी आवद्धताका लागि निवेदन सहित आवश्यक कागजात पेश गरेकोले, सोही नियमावलीको नियम २१ (२) बमोजिम नेपाली जनसम्पर्क तदर्थ समिति माल्टालाई पार्टीसंगको आवद्धता प्रदान गर्ने ।
(ग) नेपाली कांग्रेसको विधान र नियमावलीको व्यवस्थासंग नबाझिने गरी तयार गरी नेपाली जनसम्पर्क समिति यु.ए.ई.को सम्मेलनबाट संशोधित विधानलाई अनुमोदन गरिदिनका लागि नेपाली जनसम्पर्क समिति यु.ए.ई. बाट प्राप्त विधानलाई नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा १४ (३) बमोजिम स्वीकृत गर्ने ।
(घ) नेपाली कांग्रेसको नियमावली २०७६ को नियम ७४ (१) बमोजिम नेपाली जनसम्पर्क समिति इजरायलको कार्यकाल १७ जनवरी २०२१ (तदनुसार माघ ४, २०७७) मा समाप्त भएकोमा, ६ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने गरी कार्यकाल थप गर्ने ।

शोक प्रस्ताव ः
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य दिलेन्द्रप्रसाद बडूकी ९५ वर्षीया माता कलशादेवी बडूको माघ ४ गते, नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिका पूर्व उपसभापति दयानन्द वैद्यको माघ ८ गते, नेपाली कांग्रेस गुल्मी (हाल रुपन्देही) का पुराना अग्रज व्यक्तित्व ८९ वर्षीय हिमनाथ पोखरेलको पुस १४ गते, नेपाली कांग्रेस पाख्रीबास नगरपालिका कार्यसमिति, धनकुटाका नगर सभापति कोपिन्द्र मानन्धरको पुस २८ गते, रुपन्देही प्रदेशसभा ४(१) का सांसद अष्टभुजा पाठकका पिता श्रीकान्त पाठकको माघ ११ गते, सुनसरी प्रदेश सभा निर्वाचन क्षेत्र नं. ३ (२) का सांसद अगमलाल चौधरीकी धर्मपत्नी कलकतिनी देवी चौधरीको पुस २९ गते, महोत्तरी जिल्ला लोहारपट्टी नगरपालिका वडा नं. ४ का रामखिलावन माझी (सदा) को गत माघ ८ गते र सिन्धुली जिल्ला तिनपाटन गाउँपालिका वडा नं. १ का सक्रिय व्यक्तित्व जनककुमारी घिमिरेको माघ ३ गते, धनुषाको जनकनन्दनी गा.पा. वडा नं. २ का वडा सभापति एवं निर्वाचित वडा अध्यक्ष भोगेन्द्र पाठकको माघ ९ गते र शहिदनगर न.पा. वडा नं. २ का क्रियाशील सदस्य राजकिशोर यादवको माघ १० गते, धनुषाको सवैला नगरपालिका वडा नं. १३ का नेपाल विद्यार्थी संघका सदस्यहरु— सचिन आनन्द सिंहको माघ ९ गते र सुशील कुमार महतोको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दै उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।

नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँहरुले पु¥याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँहरुको आत्माको चिर शान्तिको कामनाका साथ सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति यो बैठक समवेदना प्रकट गर्दछ ।

Advertisment