विद्युत् भार कटौती हुन थालेपछि स्थानीयवासी आन्दोलित

हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक तीन पटक चर्को विद्युत् भार कटौती हुन थालेपछि यहाँका महिलाहरूले आक्रोशित हुँदै विद्युत् कार्यालय घेराउ गरेका छन् । सिमकोटमा दैनिक १२ घण्टाभन्दा बढी विद्युत् भार कटौती हुँदा यहाँका सेवाग्राही आन्दोलित भएका हुन् । नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्र हुम्लाले चरम लापर्वाही गरेको भन्दै सिमकोट गाउँपालिका–६ का स्थानीय महिलाले विद्युत् कार्यालयमा पुगेर कार्यालय घेराउ गर्नुका साथै आन्दोलन गरेका हुन् । दिउँसो केही समय विद्युत् आपूर्ति भए पनि साँझ ४ बजेदेखि विद्युत् भार कटौती भएर राति १० बजेपछि मात्रै विद्युत् आउने हुँदा एसइई तयारी गरिरहेका विद्यार्थीसहित अन्य विद्यार्थीको पठनपाठनमा समस्या निम्त्याएको भन्दै वडा नं ६ का महिला आक्रोशित भएका हुन् ।

विद्युत् समयमै उपलब्ध नहुँदा विद्यार्थी र वृद्धवृद्धालाई बढी समस्या बनाएको सो वडाका महिला हंसकला रोकायाले बताउनुभयो । महिलाहरूले सोमबारसम्म विद्युत् कार्यालयले भनेको समयमा आपूर्ति नगरे विद्युत् लाइन कटौती गर्नुका साथै आफ्नो जग्गामा गाडिएका पोल सोही कार्यालयमा निवेदन दिएर उखेलेर फ्याँक्ने चेतावनी दिएका छन् ।

Advertisment