अख्तियारद्धारा नापी निरीक्षक उपर घुसररिसवत लिई भ्रष्टाचार गरेकोमा आरोपपत्र दायर

रुपन्देही जिल्ला अदालतमा परेको जग्गा सम्बन्धी मुद्दाको नापजाँच कार्यमा सहजीकरण गरिदिने भनी सोही अदालतका नापी निरीक्षक (सर्वेक्षक) द्वय सुमित चौलागाई र मनोज थापाले सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निज सर्वेक्षकद्वय सुमित चौलागाई र मनोज थापालाई सेवाग्राहीबाट रु. ५,०००।– (पाँच हजार) अतिरिक्त रकम लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा रुपन्देही जिल्ला अदालतका नापी निरीक्षक (सर्वेक्षक) द्वय मनोज थापा र सुमित चापागाईले आपसी मिलेमतोमा सेवाग्राहीको जग्गा मुद्दामा जग्गा नापनक्सा गर्न आएवापत भनी रु. ५,०००।– घुसररिसवत माग गरी लिएको पुष्टि हुन आएकोले निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको भ्रष्टाचारजन्य कसुर भएकोले निज नापी निरीक्षक (सर्वेक्षक) द्वय मनोज थापा र सुमित चापागाईलाई जनही बिगो रु. ५,०००।– (पाँच हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको कुरा अख्तियारले जानकारी दिएको छ ।

Advertisment