पक्की र सुरक्षित सडक पहिलो प्राथमिकता :प्रम

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने सबै सडक पक्की र सुरक्षित हुनुपर्ने बताउनुभएको छ । सङ्घ, प्रदेश र स्थानीय जुनसुकै तहले सडक निर्माण गरे पनि पक्की र सुरक्षित सडक पहिलो प्राथमिकता भएको उहाँले स्पष्ट पार्नुभयो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आयोजना गरेको “प्रादेशिक एवं स्थानीय सडक तथा सुधार कार्यक्रम”को आइतबार सातवटै प्रदेशमा एकै पटक भर्चुअल माध्यमबाट शुभारम्भ गर्नुहुँदै उहाँले नेपालमै पहिलो पटक सातवटै प्रदेश र कुल २१० स्थानीय तहलाई केन्द्रसम्म पक्की सडक सञ्जालले जोड्ने प्रक्रिया प्रारम्भ भएको बताउनुभयो ।

सडक निर्माण गर्दा दुर्घटनाको अवस्था सिर्जना नहोस् भन्ने सोचेर सडक निर्माण गर्न सम्बन्धित निकायलई निर्देशन दिँदै उहाँले सडकको लम्बाइ मात्र नभई सडक पक्की र दायाँ बायाँको कुलो र पर्खालसमेत पक्की बनाउन सुझाव दिनुभयो ।

प्रधानमन्त्री ओलीले सडकको माथिल्लो भाग मात्र पक्की नभई सडकको जगैदेखि पक्की बनाउन प्राविधिकको ध्यान जानुपर्ने बताउनुभयो । “मानिसलाई विश्वास नै गर्न गाह्रो हुने गरी सरकारले पूर्वाधारको विकास गरेको छ”, उहाँले थप्नुभयो, “अहिले भौतिक पूर्वाधारको विकासले प्राथमिकता पाएको छ र अब झनै तीव्रता पाउने छ ।” उहाँले सरकारले तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गरेको, विभिन्न स्थानमा हवाई मैदान निर्माण गरेको र हुलाकी राजमार्ग निर्माण कार्यलाई अगाडि बढाएको छ भन्नुभयो ।

“सबै स्थानीय तहका वडाले एक वडा एक हेलिप्याड र पानीका पोखरी निर्माण गर्नुपर्छ ।” उहाँले भन्नुभयो, “हेलिप्याडले सुत्केरी महिलाको उद्धार गर्न सहज हुने र पानीका पोखरीले वातावरण प्रदूषण न्यूनीकरण गरी स्वच्छ वातावरण निर्माणमा सहयोग पुग्छ ।” समृद्ध नेपाल सुखी नेपालीको आकाङ्क्षा पूरा गर्न प्रादेशिक एवं स्थानीय सडक तथा सुधार कार्यक्रमले महìवपूर्ण भूमिका निर्वाह गर्ने भन्दै प्रधानमन्त्री ओलीले सरकारले स्वास्थ्य पूर्वाधार, हवाई मैदान, केबुलकार, झोलुङ्गे पुल लगायतका भौतिक पूर्वाधारका कामलाई महìव दिएको बताउनुभयो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाले सरकारले जनताको नजिकको सरकार स्थानीय तहसम्म पक्की सडक सञ्जालले जोड्ने कार्यको शुभारम्भ भएसँगै नागरिकको जीवन स्तरमा सुधार आउने बताउनुभयो । आजको गोर्खापत्रमा यो समाचार प्रकाशित छ

Advertisment