थपिए नौ हजार ३०५ सङ्क्रमित, १६८ को निधन

काठमाडौँ, २९ वैशाख \ पछिल्लो २४ घण्टामा नौ हजार ३०५ जना नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड –१९) का सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा सक्रिय कोरोनाका बिरामी एक लाख एक हजार ६३४ पुगेका छन् । पहिलो पटक संक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको हो । मन्त्रालयका अनुसार २० हजार ३६२ जनाको पिसिआर र ४२४ जनाको एण्टिजेन परीक्षणमा नौ हजार ३०५ जनामा सङ्क्रमण पुष्टि भएको हो । यसमध्ये पिसिआरबाट नौ हजार २३८ र एन्टिजेन विधिको परीक्षणका क्रममा ६७ जनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।

नेपाली सेनाद्वारा गरिएको शव व्यवस्थापनको तथ्याङ्कका आधारमा कोभिड १९ सङ्क्रमणबाट गत २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या चार हजार २५२ पुगेको छ । यस अवधिमा चार हजार ४४४ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म तीन लाख १६ हजार ४६८ जना सङ्क्रमण मुक्त भएका छन् । यो कुल सङ्क्रमितको ७४.९ प्रतिशत हो ।

Advertisment