स्वीजरल्याण्डबाट शनिबार स्वास्थ्य सामाग्री आइपुग्ने

काठमाडौं, ४ जेठ । स्वीजरल्याण्ड सरकारले कोरोना भाइरसविरुद्वको लडाईंमा साथ दिँदै नेपाललाई यसैसाता बिभिन्न स्वास्थ्य सामाग्री पठाउने भएको छ ।उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग आज भएको टेलिफोन संवादमा नेपालका लागि स्वीजरल्याण्डकी राजदूत एलिजावेथ भन क्यापिलरले नेपाल सरकारलाई बिभिन्न स्वास्थ्य सामाग्री सहयोग गर्न लागेको जानकारी दिनुभयो ।

राजदूत क्यापिलरका अनुसार, स्वीजरल्याण्ड सरकारले अक्सिजन कन्सेन्ट्रेटर, पीपीई, मास्क र एन्टिजेन टेस्टिङ किट सहयोग गर्न लागेको हो । स्वास्थ्य सामाग्री बोकेको गुल्लिभ एयरको कार्गो चार्टर्ड जहाज शनिबार काठमाडौं आइपुग्ने स्वीस राजदूत क्यापिलरले जानकारी दिनुभयो । चार्टर्ड फ्लाइटको खर्च पनि स्वीस सरकारले नै व्यहोर्ने भएको छ ।
उपप्रधानमन्त्री पोखरेलले नेपाल र नेपालीप्रति सदभाव देखाएकोमा स्वीजरल्याण्ड सरकारलाई धन्यवाद दिनुभयो ।

कोभिड– १९ संकट व्यवस्थापन केन्द्रका संयोजक समेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले यसअघि नेपालस्थित अमेरिकी राजदूत र संयुक्त राष्ट्रसंघीय आवासीय संयोजकसँग सहयोगका लागि अपिल गर्नुभएको थियो । नेपालमा कोरोना भाइरस संक्रमण बढिरहेका बेला नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत सहयोगका लागि कुटनीतिक पहल गरिरहेको छ ।

Advertisment