काठमाडौँ, १० जेठ \ सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनःस्थापना गरी नेपालको संविधानको धारा ७६ (५)बमोजिम नेपाली कांगे्रसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेशको माग गर्दै रिट निवेदन दर्ता भएको छ । निवर्तमान प्रतिनिधिसभा सदस्य १४६ जनाका तर्फबाट देउवाले आज सर्वोच्च अदालतमा पुगी दायर गर्नुभएको रिट निवेदनमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को यही जेठ ८ को सिफारिशमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते निर्वाचन तोक्ने राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको निर्णय बदर गर्न माग गरिएको छ ।
राष्ट्रपति भण्डारीले यही जेठ ८ गते सरकार गठन गर्नका लागि प्रधानमन्त्री ओलीसहित दुवै दावीकर्ताको बहुमत नपुगेको जनाउँदै प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक र मंसिरमा प्रतिनिधिसभाको निर्वाचन तोक्नुभएको थियो । त्यसैको विरोधमा सर्वोच्च अदालतमा रिट निवेदन पुगेको हो । रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतमा कांग्रेस सभापति देउवा, नेपाल (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसहित १४६ निवर्तमान सांसद जानुभएको थियो । तिनमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एमाले नेपाल समूहका २३, जसपाका १२ र जनमोर्चाका एक निवर्तमान सांसद छन् । अदालत परिसरमा कांग्रेसका नेता गगनकुमार थापाले पटकपटक प्रतिनिधिसभा विघटन दुर्भाग्यपूर्ण भएको बताउनुभयो ।