स्वास्थ्यमन्त्री तामाङद्धारा मातातीर्थ सामूदायिक अस्पतालमा जडित अक्सिजन प्लान्टको उद्घाटन

काठमाडौं, २६ जेठ । चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ स्थित् मातातीर्थ सामूदायिक अस्पतालमा जडित अक्सिजन प्लान्टको उद्घाटन गरिएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले उक्त अस्पतालमा जडित अक्सिजन प्लान्टको उद्घाटन संगै आईसोलेशन सेन्टरको निरक्षण गरेको हुन् । काठमाडौं लोकन्थलीस्थित मुनरक ईन्टरनेश्नल प्रा.ली ले उक्त प्लान्ट जडान गरेको हो ।

उद्घाटनको क्रममा मन्त्री तामाङले चन्द्रागिरी नगरपालिका अक्सिजनमा आत्मनिर्भर बनेको भन्दै यहाँका जनप्रतिनिधिहिरुलाई बधाई तथा धन्यवाद समेत दिए । उनले भने,‘तपाईहरुको नगरपालिका आज अक्सिजनमा आत्मनिर्भर बनेको छ । यो खुशीको खबर हो । तपाईहरु सबै जना यसको लागि धन्यवादको पात्र हुनुहुन्छ ।’

उनले सरकारले देशव्यापी रुपमा अक्सिजनको कुनै अभाव हुन नदिने पनि प्रतिबद्धता जनाएका छन् । अक्सिजन प्लान्ट जडान गर्नको लागि सरकारले आवश्यक बजेटसमेत विनियोजन गरिसकेकोले अब कार्यान्वयनको चरणमा जाने उनको भनाई रहेको छ । प्लान्टको उद्घाटनको क्रममा मन्त्री तामाङले देशभर नै सबै नागरिकलाई चाँडै कोरोना विरुद्वको खोपको सुनिश्चिता गर्नेगरि काम गरिरहेको बताउदै खोप सुनिश्चित नहुन्जेलसम्म सम्पूर्ण नागरिकलाई सुरक्षित रहन आग्रह गरे ।

कार्यक्रममा अक्सिजन प्लान्ट जडान गर्ने कम्पनी श्री मुनरक ईन्टरनेश्नल प्रा.ली.का प्रवन्ध निर्देशक ई. प्रशान्त झाले तोकिएको समयभन्दा अघि नै आफूहरुले काम सम्पन्न गरेको बताए । उनले प्लान्टले २४ घण्टामा ४० लिटर क्षमताको ४० देखि ४८ वटा सिलिण्डर उत्पादन गर्ने पनि जानकारी दिए । उनले दश दिनभित्रै प्लान्ट जडान गर्न सकिने पनि बताएका छन् ।
कार्यक्रममा प्रदेशसभा सदस्य रमा आलेमगरले पनि अक्सिजन प्लान्ट जडान गर्न सफल भएको भन्दै चन्द्रागिरी नगरपालिकाका जनप्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गरिन् । उनले अस्पताललाई आवश्यक सहयोग गर्नसमेत मन्त्री तामाङलाई आग्रह गरेकी छन् ।
त्यस्तै, कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले सबैको सहयोगले तोकिएको समयभन्दा धेरै अघि नै अक्सिजन प्लान्ट जडान गर्न सकिएको बताए । उनले यसमा सहयोग गर्ने सबैप्रति हार्दिक आभार प्रकट गरे ।
त्यस्तै, चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष सन्तोष खड्काले सबै नगरवासी, प्रदेश सदस्यहरु, जनप्रतिनिधिहरुको सहयोगको कारण चाँडै नै अक्सिजन प्लान्ट जडान गर्न सकिएको बताए ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशषेज्ञ डा. रोशन पोखरेल, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निरज पौडेल लगायत नगरपालिकाका जनप्रतिनीधि र स्थानियहरुको उपस्थिती रहेको थियो ।

Advertisment