वरिष्ठ पत्रकार कुलचन्द्र वाग्ले तनहुँ क्षेत्र नं १ बाट कांग्रेस महाविधेशन प्रतिनिधिमा उठ्ने घोषणा

 

काठमाडौँ, १७ असोज ः वरिष्ठ पत्रकार कुलचन्द्र वाग्ले नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्र्तगत तनहुँ निर्वाचन क्षेत्र १ बाट महाधिवेशन प्रतिनिधिमा लड्ने घोषणा गर्नुभएको छ । नेपाल प्रेस यूनियनका पूर्वअध्यक्ष वाग्लेले “प्रजातान्त्रिक राजनीति, संस्कृति र पद्धतिमा तपाईंहरु सबैसँग जोडिने, जोड्ने विकास हो’’ मूल नारासहित महाधिवेशन प्रतिनिधिमा उम्मेदवार हुने घोषणा गर्नुभएको छ ।

महाधिवेशन प्रतिनिधिका आकांक्षी वाग्लेले भन्नुभयो, “प्रजातान्त्रिक राजनीतिक, संस्कृति र पद्धतिमा सबैसँग जोडिने, जोड्ने विकास नै मेरो मूल उद्देश्य हो । बीपी कोइरालाले वैचारिक रुपमा व्यक्त गर्नुभएका बहुआयामिक विषयहरुको समसामयिक परिमार्जनसहित सुस्पष्ट गर्ने मेरो दृष्टिकोण रहनेछ । यसका लागि विषय विशेषज्ञहरुको सुझावअनुसार ती विचारहरुलाई प्रस्तुत गर्न आफ्नो मूल्य–मान्यतालाई सबै पक्षसँग राख्ने मेरो प्रयत्न रहनेछ ।”

प्रजातान्त्रिक विचार समाजका केन्द्रीय वरिष्ठ उपाध्याक्ष वाग्लेको विसं २०१६ फागुन २४ गते तनहुँ ब्यासनपा– ७, कलेस्ती नरंगामा जन्म भएको हो । वाग्लेले नेपाली विषयमा स्नातकोत्तर गर्नुभएको छ । उहाँले १३ वर्ष शिक्षण पेशामा बिताउनुभयो । २०३६ सालबाट सरस्वती निमावि मैबल तनहुँबाट शिक्षण पेशा शुरु भएकोमा उहाँले आदिकवि भानुभक्त क्याम्पस–तनहुँ, कन्या मावि– काठमाडौैँ र क्यामिन कोट निमाविसमेतमा प्राध्यापन गर्नुभयो । “प्रजातन्त्र बहुआयामिक, चिन्तन र जीवनदृष्टि हो । यसको प्रतिफल सबै नागरिकहरुले प्राप्त गर्नुपर्छ । यही सोचमा निरन्तर क्रियाशील रहन्छु र निरन्तर यस्तै विषयमा केन्द्रित भएर अगाडि बढ्छु”, वाग्लेले एक प्रसंगमा भन्नुभयो ।

वाग्लेले २०४२ देखि पत्रकारिता क्षेत्रलाई आफ्नो कर्म क्षेत्र बनाउनभएको छ । उहाँले विभिन्न क्षेत्रमा रहेर महत्वपूर्ण भूमिका निर्वाहसमेत गर्नुभएको छ । उहाँले राससको कार्यकारी अध्यक्ष, नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्ष, सूचना तथा सञ्चार मन्त्रालयको सल्लाहकार, नेपाली कांग्रेस केन्द्रीय प्रचारप्रसार विभागको सदस्य, गोरखापत्र दैनिकमा नायब कार्यकारी सम्पादक र नयाँ क्षितिज साप्ताहिकमा प्रधान सम्पादकसमेत भईसक्नुभएको छ ।

राजनीतिलाई स्वच्छ, चरित्रवान्, सैद्धान्तिक आधारसँग जोड्न पर्छ भन्ने मान्यता साथ प्रजातन्त्र र स्वतन्त्रता, समाजवादले परिकल्पना गरेको नागरिकको समृद्धि, सामाजिक कल्याणको विषयमा राज्य, सरकार, राजनीति, तल्ला तहको जनता समक्ष पनि पु¥याउनुपर्छ भन्ने आफ्नो विश्वास रहेको उहाँले बताउनुभयो ।

नेविसंघ इकाइ, बाल्मीकि क्याम्पस सभापति, नेपाल विद्यार्थी संघ तनहुँ काठमाडौँ सम्पर्क समितिको सचिव, नेपाली काँग्रेस तनहुँ काठमाडौँ सम्पर्क समाजका सल्लाहकार, नेपाली कांग्रेसको महासमिति सदस्य, विदेशस्थित नेपाल विद्यार्थी संघ, वाराणसी–भारत, पश्चिम संयोजक रहीसक्नुभएका वाग्ले हाल प्रजातान्त्रिक विचार समाजका वरिष्ठ उपाध्याक्षमा र बाह्रखरी अनलाइन इम्यागेजिनमा साप्ताहिक रुपमा समसामियक विषयमा लेख लेख्नुहुन्छ ।

Advertisment