नेपालद्धारा पाकिस्तान १० विकेटले पराजितः सिरिजमा २–० को अग्रता

पाकिस्तान विरुद्धको महिला नेत्रहीन क्रिकेट सिरिजमा लगातार दोस्रो जित हात पार्दै पाँच खेलको सिरिजमा नेपालले २–० को अग्रता लिएको छ ।
इस्लामावादमा आज मनकेसीको कीर्तिमानी अर्धशतकमा पाकिस्तानलाई नेपालले १० विकेटले हराएको हो । अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेटमा अर्धशतक प्रहार गर्ने उनी पहिलो खेलाडी बनेकी छिन् । इस्लावादको सिमाना रावलपिण्डीमा पाकिस्तानले दिएको १०३ रनको सामान्य लक्ष्य नेपालले ७ ओभर ३ बलमा विना कुनै क्षति भेट्टायो ।

नेपालका लागि ओपनर मनकेसीले आक्रमक ब्याटिङ गर्दै मात्र २१ बल खेलेर नटआउट ५८ रन बनाइन् । बि टू क्याटेगोरी खेलाडी चौधरीले आफ्नो इनिङ्समा १० चौका प्रहार गरिन् । यस्तै अर्का ओपनर विनिता पुनले नटआउट ३४ रन बनाइन् । चौधरी र पुनबीच भएको १०३ रनको साझेदारी पनि महिला नेत्रहीन क्रिकेटमा कीर्तिमानी साझेदारी हो ।

पाकिस्तानले पहिलो खेलको तुलनामा सुधारिएको प्रदर्शन गरेपनि नेपाली खेलाडी ब्याटिङमा हावी हुँदा घरेलु टोली पुरै २० ओभर खेल्दै १०२ रनमा समेटियो । पाकिस्तानका लागि ओपनर तयावा फतिमाले सर्वाधिक २७ तथा सादियाले १७ रन जोडिन् । बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । पाकिस्तानले ३५ रन अतिरिक्तबाट पाएको थियो । बलिङतर्फ नेपालकी कप्तान भगवती भट्टराई र मुना अर्यालले समान १–१ विकेट लिइन् ।

यसअघि, लाहोरमा भएको पहिलो खेल पनि नेपालले १० विकेटले नै जितेको थियो । फैसलावादस्थित इकवाल स्टेडियममा हुने भनिएको दोस्रो खेल भने वर्षाका कारण रद्ध भएको थियो । पाकिस्तान ब्लाइण्ड क्रिकेट काउन्सिलको आयोजनामा भइरहेको पाँच खेलको सिरिज अन्तर्गत चौथो खेल आइतवार र पाँचौ खेल सोमवार हुनेछ । दुवै खेल इस्लामावादस्थित शालिमार क्रिकेट स्टेडियममा हुनेछन् ।

Advertisment