साफ च्याम्पियनसिपः सेमिफाइनलमा नेपाल र श्रीलंका भिड्ने

पाँचौं साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपाल र श्रीलंका तथा भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ ।
विराटनगरस्थित शहीद रंगशालामा आइतबार चार पटकको उपाधि विजेता भारतले श्रीलंकालाई ५–० गोलले हराएसँगै सेमिफाइनल समिकरण पुरा भएको हो ।

समुह चरणको अन्तिम खेलमा जित हात पारेको भारत समुह बी को विजेताको रुपमा अन्तिम चारमा प्रवेश गर्दै समुह ए को उपविजेता बंगलादेशसँग खेल्ने भएको हो भने उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको श्रीलंकाले समुह ए को विजेता नेपालसँग खेल्ने भएको हो ।

सुरुवातदेखीनै आक्रमक खेलेको भारतका लागि ग्रेस दाङमेई, सन्ध्या रंगनाथन, इन्दुमति खाथिरीसान, संगिता वासफोरे र रतनबाला देवीले गोल गरेका थिए । खेलको तेस्रो मिनेटमै ग्रेसले भारतलाई अग्रत दिलाईन् । सन्ध्याको प्रहार क्रसबारमा लागेर फर्किएको बललाई ग्रेसले सहजै गोलमा गरिन् । सातौं मिनेटमा सन्जु यादवको पासमा सन्ध्या रंगनाथनले सुन्दर गोल गर्दै भारतको अग्रता दोब्बर बनाईन् । ३६औं मिनेटमा इन्दुमतिले डिफेन्सको कमजोरीको फाइदा उठाउँदै भारतका लागि तेस्रो गोल गरिन् । पहिलो हाफको अन्तिम समयमा भारतले पाएको पेनाल्टीलाई संगिताले गोल गर्दै ४–० को अग्रता बनाईन् । पहिलो हाफमा ४ गोल गरेको भारतले दोस्रो हाफमा थप एक गोल गर्यो । ४७ औं मिनेटमा रतनबाला देवीले बक्सभित्रबाट गरेको प्रहार सिधै गोल भएको थियो ।

Advertisment