अफगानिस्तानले जित्यो ऐतिहासिक टेष्ट सिरिज

आयरल्याण्डलाई ७ विकेटले हराउँदै अफगानिस्तानले ऐतिहासिक पहिलो टेष्ट क्रिकेट सिरिज जितेको छ । भारतको राजिब गान्धी क्रिकेट स्टेडियममा आज सम्पन्न खेलमा आयरल्याण्डले दिएको १४७ रनको सामान्य लक्ष्य अफगानिस्तानले चौथो दिन ४७ ओभर ५ बलमा ७ विकेट गुमाएर भेट्टायो ।

दोस्रो इनिङ्समा अफगानिस्तानका लागि रहमत साहले ७२ र इशानउल्लाहले नटआउट ६५ रन रनको अर्धशतकीय पाली खेले । आयरल्याण्डका एण्डी रोबर्ट र जेम्स क्यामरुन ड्रोले एक एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड पहिलो इनिङ्समा १७२ रन जोड्दै अलआउट भयो ।

पहिलो इनिङ्समा ३१४ रन जोड्दै अलआउट भएको अफगानिस्तानले १४२ रनको अग्रता लियो । अफगानिस्तानका लागि टेष्ट क्रिकेटमा पहिलो अर्धशतक बनाएका रहमत साहले ९८ रनको योगदान दिएका थिए । त्यस्तै कप्तान अस्घर अफगानले ६७ र हास्मदउल्लाह साहिदीले ६१ रन बनाए ।

पहिलो इनिङ्समै अफगानिस्तानसंग पछि परेको आयरल्याण्ड दोस्रो इनिङ्समा २८८ रन बनाउँदै अलआउट हुँदा अफगानिस्तानले मध्यम लक्ष्य पायो । आयरल्याण्डका लागि एन्डी बाल्ब्रिनेले ८२ रन र केभिन ओ ब्रुयनले ५६ रन जोडे । आयरल्याण्डलाई सस्तैमा रोक्न राशिद खानले ५ विकेट लिए ।

यसअघि भारतविरुद्ध टेष्ट क्रिकेटमा डेब्यु गरेको अफगानिस्तान एक इनिङ २ सय ६२ रनले पराजित भएको थियो ।

Advertisment