साफ च्याम्पियनसिपः सेमिफाइनलका लागि नेपाल तयार

पाँचौ साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा भोली नेपाल र श्रीलंका तथा भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।
विराटनगरको सहिद रंगशालामा नेपाल र श्रीलंकाबीच हुने पहिलो सेमिफाइनल बिहान ११ बजे हुनेछ ।

समुह चरणमा दुई जित हात पार्दै नेपाल समुह ए को विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको थियो भने भारतसँग पराजित हुँदै समुह बी को उपविजेताका रुपमा श्रीलंकाले नेपालसँगको भेट पक्का गरेको हो ।

खेल अघि आज भएको प्रि म्याच कन्फ्रेन्समा प्रशिक्षक हरि खड्काले सेमिफाइनलको लागि नेपाली टोली तयार रहेको बताए । कुनै गोल नखाँदै फाइनल पुग्ने लक्ष्यमा रहेको भन्दै प्रशिक्षक खड्काले घरेलु मैदानमा नेपाल बलियो र सन्तुलित भएपनि श्रीलंका कमजोर नरहेको बताए ।

साफमा नेपाल र श्रीलंकाबीच अहिलेसम्म भएका ५ खेलमा नेपालले सबै खेलमा जित हात पारेको छ । पछिल्लो पटक भारतमा सम्पन्न चौथो साफ च्याम्पियनसिपको समूह चरणमा भएको खेलमा नेपाल १–० ले विजयी भएको थियो ।

त्यस्तै भोली नै हुने दोस्रो सेमिफाइनलमा चार पटकको विजेता भारत र बंगलादेशबीच ३ बजे प्रतिस्पर्धा हुनेछ । माल्दिभ्स र श्रीलंकालाई हराउँदै भारत समुह बी को विजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको हो भने बंगलादेले नेपालसँग पराजित हुँदै समुह ए को उपविजेताका रुपमा सेमिफाइनलमा स्थान बनाएको हो ।

Advertisment