मातृभूमिका लागि पारस र ज्ञानेन्द्र भिड्ने

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लको टोलीबीच मातृभूमि कपमा प्रतिस्पर्धा हुने भएको छ ।

धुर्मुस सुन्तली फाउण्डेशनले निमार्ण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको सहयोगार्थ हुन लागेको च्यारिटी खेलमा पारस र ज्ञानेन्द्रको टोलीबीच खेल हुन लागेको हो । रंगशाला निर्माणका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यका साथ हुने मैत्रीपूर्ण खेल त्रि वि मैदानमा चैत २३ गते हुनेछ ।

राष्ट्रिय टोलीका २२ खेलाडी सम्मिलित हुने खेलमा नेपाल ए टिमको कप्तानी राष्ट्रिय टोलीका कप्तान पारस खड्काले गर्नेछन् भने नेपाल बी टिमको कप्तानीमा उपकप्तान ज्ञानेन्द्र मल्लले गर्नेछन् । कप्तान पारसको टोली नेपाल ए मा अनिल साह, शरद भेषावकर, ललित नारायण राजवंशी, सोमपाल कामी, अविनास बोहोरा, सन्दीप जोरा, रोहित कुमार पौडेल, सुनिल धमला, कमल सिंह ऐरी, आरिफ शेख र भुवन कार्की रहेका छन् ।

ज्ञानेन्द्रको कप्तानीमा रहेको नेपाल बी मा दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, बसन्त रेग्मी, करण केसी, ललित भण्डारी, भिम सार्की, पवन शर्राफ, विक्रम शोब, सुशन भारी, दिलिप नाथ र प्रदीप ऐरी रहेका छन् । त्यस्तै, हास्य कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको कप्तानीमा कलाकारहरुबीच पनि खेल हुनेछ ।

रंगशाला भरतपुर महानगरपालिकाले जग्गा उपलब्ध गरेपछि हास्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेको धुर्मुस सुन्तली फाउण्डेशनले भरतपुरमा रंगशाला निर्माण गर्न लागेको हो । त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको कृषि तथा वन विश्वविद्यालयको जग्गामा रंगशाला निर्माण हुनेछ । रंगशाला निमार्णका लागि ६ महिनाभित्र डीपीआर तयार हुनेछ । त्यसको २ वर्षमा निर्माण सम्पन्न हुने बताइएको रंगशाला निर्माणको लागि ३ अर्ब बजेट लाग्ने बताईएको छ ।

Advertisment