नेपाल र भारतबीच उपाधि भिडन्त

घरेलु टोली नेपाल र चार पटकको विजेता भारतबीच पाँचौ साफ महिला च्याम्पियनसिपको उपाधिका आज प्रतिस्पर्धा हुँदैछ ।
नेपाल र भातरबीच हुने फाइनल खेल विराटनगरस्थित सहिद रंगशालामा दिउसो ३ बजेपछि हुनेछ ।

फाइनल अघि गरिएको प्रि–म्याच कन्फ्रेन्समा नेपाली टोलीका प्रशिक्षक हरि खड्काले उपाधि जित्ने बताए । दक्षिण एसियामा भारत सधै बलियो टोली भएपनि यसपटक भारतको वर्चस्व तोड्ने नेपालको योजना रहेको उनले बताए । घरेलु मैदानमा खेलाडीहरु आत्मविश्वासी देखिएको र टिम पनि सन्तुलित रहेका कारण यसपटक भारतलाई हराउन आफ्नो टोली सक्षम रहेको प्रशिक्षक खड्काले बताए । यता भारतीय प्रशिक्षक मायामोल रक्कीले नेपाल बलियो टोली रहेको भन्दै घरेलु मैदान र दर्शककाबीच नेपालसँगको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरे ।

समुह ए को पहिलो खेलमा भुटान र दोस्रो खेलमा बंगलादेशलाई समान ३–० ले हराउँदै नेपाल सेमिफाइनल प्रवेश गरेको थियो । यता समुह बी मा भारतले माल्दिभ्सलाई ६–० र श्रलिंकालाई ५–० ले हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो । सेमिफाइनलमा श्रीलंका लागि ४–० गोलले हराउँदै नेपाल उपाधि नजिक पुगेको थियो भने भारतले बंगलादेशलाई समान गोल अन्तरले हराउँदै लगातार पाँच पटक फाइनलमा स्थान बनाएको हो ।

साफ च्याम्पियनसिपमा नेपाल र भारतबीच अहिलेसम्म भएका ४ खेलमध्ये सबै खेल भारतले नै जितेको छ । सुरुवाती लगातार तीन संस्करणमा नेपाललाई नै हराउँदै भारतले उपाधि जितेको थियो भने भारतमै भएको चौथो संस्करणमा घरेलु टोलीसँग हार्दै नेपाल सेमिफाइनलबाटै बाहिरीएको थियो । फिफाको पछिल्लो वरियतामा नेपाल १०८ औं स्थानमा रहेको छ भने भारत ६२ औं स्थानमा छ । यसबाट पनि भारत नेपालका लागि समस्याका रुपमा रहने पक्का छ । तर हालै सम्पन्न हिरो गोल्डकपको लिग चरणमा भारतलाई २–१ ले हराएको नेपाली टोलीको यस प्रतियोगितामा भने मनोबल उच्च छ ।

Advertisment