नेपाललाई हराउँदै भारत साफ च्याम्पियन

विराटनगर । पाँचौं साफ महिला फुटबलमा भारतसँग पराजित हुँदै चौंथो पटक पनि नेपाल उपविजेतामै सिमित भएको छ ।
विराटनगरस्थित सहिद रंगशालामा आज सम्पन्न फाइनलमा भारतसँग ३–१ गोलले पराजित हुँदै पहिलो उपाधि जित्नबाट नेपाल बञ्चित भएको हो । जितसँगै भारतले सबै संस्करणको उपाधि जित्न सफल भएको छ । साफको सुरुवाती लगातार तीन संस्करणमा भारतसँगै हार्दै नेपाल उपविजेतामै सिमित भएको थियो भने भारतमै भएको चौथो संस्करणमा घरेलु टोलीसँग हार्दै नेपाल सेमिफाइनलबाटै बाहिरीएको थियो ।

रोमाञ्चक खेलमा भारतलाई जित दिालउन डालिमा छिब्बर, दाङमेइ ग्रेस र अञ्जु तामाङले गोल गरे । खेलको सुरुवातमा भारतलाई दबाबमा राखेपनि २६ औं मिनेटमा भारतले अग्रता बनायो । उत्कृष्ट फ्रिकिक प्रहार गर्दै डालिमा छिब्बरले सिधै बललाई पोष्टको दिशा दिए । त्यस पछि पनि केहि राम्रा अबसर बनाएको दुवै टोलीले कुनै गोल गर्न सकेन् । खेलको ३३ औं मिनेटमा नेपाल खेलमा फर्कियो । रेणुका नगरकोटीको लामो पासलाई साबित्रा भण्डारीले हेड मार्फत गोल गरिन् । पहिलो हाफको इन्जुरी समयमा पनि साबित्राले गोल गर्ने राम्रो अबसर गुमाईन् ।
पहिलो हाफमा १–१ गोलको बराबरी भएको खेलको दोस्रो हाफमा भारत थप २ गोल गर्यो । दोस्रो हाफमा नेपाललाई पुरै दबाबमा राख्दै भारतले खेलको ६३ औं मिनेटमा दाङमेइ ग्रेसको गोलबाट २–१ को अग्रता लियो । नेपाली डिफेन्डरको कमजोरीको फाइदा उठाउँदै किपर एन्जिला अगाडी बढ्दा ग्रेसले सुन्दर गोल गरिन् । खेलको ७८ औं मिनेटमा सब्सिच्युट खेलाडी अञ्जु तामाङले भारतका लागि तेस्रो गोल गरिन् । नेपालको फितलो डिफेन्डरको फाइदा उठाउँदै निकालिएको हेड पासलाई अञ्जुले सहजै गोल गरिन् ।
प्रतियोगितामा नेपाली साबित्रा भण्डारी र भारतकी इन्दुमति कथिरेसानले संयुक्त रुपमा सर्वाधिक गोलकर्ताको अवार्ड जित्न सफल भए । दुवैले समान ४–४ गोल गरेका थिए । त्यस्तै भारतकी डालिमा छिब्बर फाइनलका मोष्ट भ्याुएबल खेलाडी घोषित भइन् ।

Advertisment