यू–२३ च्याम्पियनसिप छनोटः हेमन्त नखेल्ने

काठमाडाैं । एएफसी यू-२३ च्याम्पियनसिप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आयोजक कतारसँग प्रतिस्पर्धा गरिरहेकाे छ । कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरको मैदानमा नेपाली समय अनुसार राति पौने १० बजे खेल शुरु भएकाे हाे ।

यो खेलका लागि प्रशिक्षक बालगोपाल महर्जनले नेपालको सुरुवाती ११ मा एक खेलाडी परिवर्तन गर्ने भएका छन् । पहिलो खेलमा मिडफिल्डर हेमन्त थापामगर चोट ग्रस्त भएका कारण उनको स्थानमा नितिन थापाले मौका पाएका हुन् । घाइते भएका कारण हेमन्तले यस प्रतियोगिताका सबै खेल गुमाउने टोलीका मेडिकल अफिसर राजु डंगोलले जानकारी दिए ।

यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल ओमानसंग १-० गोलले पराजित भएको थियो । नेपाललाई दोस्रो चरणमा स्थान बनाउन कतारसँग सकारात्मक नतिजाको विकल्प छैन । अन्तिम खेल नेपालले मंगलबार अफगानिस्तानसँग खेल्नेछ ।

छनोटको शीर्ष टोलीले थाइल्याण्डमा आयोजना हुने एएफसी यू-२३ च्याम्पियनसिप खेल्नेछ । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट पाँच टोलीले पनि च्याम्पियनसिप खेल्ने मौका पाउनेछन् ।

Advertisment