आन्ध्र प्रदेशलाई हराउँदै नेपालको दोस्रो जित

अन्डर नाइन्टिन विश्वकप एसिया छनोट प्रतियोगिताको तयारीका क्रममा भारतमा रहेको नेपाली टिमले आन्ध्र प्रदेशको अन्डर नाइन्टिन टिमलाई एक विकेटले पराजित गरेको छ । यसअघिको दुई अभ्यास खेलमध्ये नेपालले एकमा जित र एकमा हार ब्यहोरेको थियो ।

आन्ध्रको टिमले दिएको २ सय २८ रनको लक्ष्य पछ्याएको नेपालका लागि कप्तान रोहित पौडेलले ७१ रनको उत्कृष्ट इनिङ खेले । रोहितले ६५ बलमा पाँच चौका र दुई छक्का प्रहार गरेका थिए । दुई ब्याट्सम्यान आउट भएपछि क्रिजमा आएका रोहितले कप्तानी पारी खेलेका थिए । उनले ४० बलमा अर्धशतक पार गरेका थिए । भीम शार्की अर्धशतक बनाउनबाट एक रनले चुके । उनी ४९ रन बनाएपछि क्याचआउट भएका थिए । सन्दीप जोराले १९ रन बनाए ।

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको आन्ध्रले ४९ दशमलब १ ओभरमा सबै विकेट गुमाउँदै २ सय २७ रन बनाएको थियो । बलिङतर्फ नेपालका लागि कमल सिंह ऐरीले ४, पवन सर्राफले ३ तथा प्रतिश जिसी, राशिद खान र सागर ढकालले एक(एक विकेट लिए । दोस्रो ओभरमै नेपालका प्रतिस जिसीले ओपनर हर्षवर्धनलाई आउट गरेका थिए । २०औं ओभरमा सागर ढकालले नितिसलाई क्याच आउट गराए । उनले ५१ रन बनाएका थिए । पवन सर्राफले रामप्रसादलाई २६ रनमा क्याचआउट गराए ।
४०औं ओभरमा नेपालले तेस्रो सफलता हात पार्‍यो । पवन सर्राफले सुब्रमन्यमलाई ४५ रन बनाएपछि क्याचआउटकै शिकार बनाए । यस्तै, योगानन्धले ५९ रन बनाए । आन्ध्रका पछिल्ला क्रमका ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

Advertisment