आठौं राष्ट्रिय खेलकुद चैत २७ मा हुँदैनः पिताम्बर

राष्ट्रिय खेलकुद परिषद राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता कुनै हालतमा चैत २७ गते हुन नसक्ने बताएका छन् । नेपालगञ्जमा प्रतियोगितास्थलको अवलोकन पछि काठमाडौं फर्किएको उपाध्यक्ष तिम्सिनाले भौतिक संरचना निर्माण पुरा नभएको कारण प्रतियोगिता पछाडी धकेलिने बताएका हुन् ।

“उद्घाटन र समापनका लागि भिआईपी प्याराफिट निमार्ण भइरहेको छ । सामान जहाजमा आईसकेको छ । तर कहाँ पुग्यो त्यो कसैलाई थाहा छैन् ।” उपाध्यक्ष पिताम्बरले भने । “ठेकेदार कम्पनीलाई समयमा काम सम्पन्न गराउन सदस्य सचिव ज्युले चैत २७ मै हुन्छ भन्दै आउनु भएको छ । म भएपनि त्यस्तै भन्थेँ । तर ढुक्क हुनुस् चैत २७ मा प्रतियोगिता हुँदैन् ।”

तर राखेप सदस्य सचिव केशव कुमार विष्टले भने चैत २७ मै प्रतियोगिता गर्ने बताउँदै आइरहेका छन् । व्यवहारिक रुपमा पनि दुई दुई वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नु पर्ने हुँदा निर्धारित मितिमै प्रतियोगिता हुने तर्क गर्दै आइरहेका छन् । यता, अहिलेसम्म ८५ प्रतिशत मात्र काम सम्पन्न भएको र थप संरचनाका लागि निमार्ण सामाग्री समयमा आएको खण्डमा बैशाख पहिलो हप्ता मिति तोक्ने उपाध्यक्ष तिम्सिनाले जानकारी दिए । “अब १५ गते बोर्ड बैठक हुन्छ र बैशाख पहिलो हप्तामा मिति घोषणा गर्नेछौं । तर त्यसको लागि निमार्ण सामाग्री पहिले नेपाल पुग्नु पर्यो र त्यसको आधारमा मात्र निर्णय गर्न सकिन्छ ।”

यता, प्रतियोगिता स्थलको अवलोकनपछि खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले बैशाख दोस्रो साता प्रतियोगिता गर्नु पर्ने धारणा राखिसकेका छन् । मन्त्री विश्वकर्मा र उपाध्यक्षको पछिल्लो धारण सँगै पटक पटक सर्दै आएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अझैपनि अनिश्चित बन्दै गएको छ ।

Advertisment