एपीएफलाई सिजनको १० औं उपाधि

काठमाडाैं । चिरपरिचित प्रतिद्धन्दी न्यु डायमण्ड ऐकेडेमीलाई हराउँदै घरेलु टोली एपीएफले सातौं सशस्त्र प्रहरी बल महानिरीक्षक महिला राष्ट्रिय खुल्ला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

यो सँगै विभागीय टोली एपीएफले वर्षको १० औं उपाधि समेत जित्न सफल भएको छ । सिजनको पहिलो उपाधि स्वरुप बैशाखमा शेरबहादुर खड्का स्मृती भलिबल प्रतियोगिता जितेको एपिएफले १० औं उपाधिका रुपमा आफ्नै आयोजना भएको प्रतियोगिता जितेको हो ।

हलचोकस्थित आफ्नै कोर्टमा सम्पन्न फाइनलमा एपीएफले न्यु डायमण्डलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि रक्षा गर्यो । पहिलो सेट २५–१२ ले जितेको एपीएफले दोस्रो सेट २५–११ र तेस्रो सेटमा समान २५–११ को जित निकाल्यो । जितसँगै एपीएफले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाएको छ भने उपविजेता न्यु डायमण्डले १ लाख २५ हजार रुपैयाँमा चित्त बुझायो ।

तेस्रो भएको नेपाल पुलिस क्लबले ५० हजार हात पार्यो । तेस्रो स्थानका लागि आजै भएको खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा हराएको हो ।

Advertisment