आठौं राष्ट्रिय खेलकुदमा ५ हजार २११ खेलाडीले भाग लिने

काठमाडाैं । प्रदेश नम्बर ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ५ हजार २११ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद राखेपले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बैशाखमा आयोजना हुने प्रतियोगितामा कुल ३५ खेलमा महिला र पुरुष गरि ५ हजार बढी खेलाडीले प्रतिस्पर्धा गर्ने जनाएको हो । प्रतियोगितामा सहभागी खेलाडी मध्ये २ हजार ८२५ पुरुष खेलाडी र २ हजार ३८६ महिला खेलाडी रहेका छन् ।

यस्तै ६४० प्रशिक्षक र ४६१ टिम ब्यबस्थापक रहनेछन् । प्रतियोगिता संचालन गर्न ९२२ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायक र ४७१ स्थानीय निर्णायक रहने राखेपले जनाएको छ ।

प्रतियोगितामा खेलाडीले ३७२ स्वर्ण, ३७२ रजत र ५६३ काश्यका लागि प्रतिस्पर्धा गर्ने छन् । व्यक्तिगत विधामा स्वर्ण विजेताले १५ हजार र सामुहिकतर्फको विजेताले ७ हजार पाउने छन् ।

त्यस्तै राष्ट्रिय कीर्तिमान भङ्ग गर्नेले २५ हजार पाउने राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार बिष्टले जानकारी दिनुभयो । प्रदेश पाँचका विभिन्न जिल्लामा आयोजना हुने प्रतियोगिता बैशाख ५ देखि ११ गतेसम्म हुनेछ । तर, प्रतियोगिताका खेलहरु भने चैत २७ गतेबाट सुरु हुनेछ । प्रतियोगिताको उद्घाटन र समापन नेपालगंज रंगशालामा हुनेछ । प्रतियोगितामा ७ प्रदेश, तीन विभागीय टिम त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब र एनआरएनए टिमका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताअन्तर्गत बाँकेमा पुरुष फुटबल, बक्सिङ, भलिबल, टेबलटेनिस, उसु, जुडो, ह्याडबल, कराँते, हक्की, सुटिङ, जिम्न्याष्टिक, साइकिलिङ, आर्चरी, फेन्सिङ, पौडी, ट्रायथलन र पुरुष क्रिकेटका खेल हुनेछन् ।

त्यसैगरी दाङमा महिला फुटबल, एथ्लेटिक्स, कराँते, ब्याटमिन्टन, बास्केटबल, आइटिएफ तेक्वान्दो र महिला क्रिकेटका खेल हुनेछन् ।

यस्तै रुपन्देहीमा शारीरिक सुगठन, सफ्ट टेनिस, लङ टेनिस, तेक्वान्दोका खेल आयोजना गरिनेछ । बर्दियामा कबड्डी, बुद्धिचाल, खोखो, सेपाकताक्रोका खेल हुनेछन् भने ललितपुरमा स्क्वास, कास्कीमा प्याराग्लाइडिङ, कपिलवस्तुमा कुस्ती र काठमाडौंमा गल्फ प्रतियोगिता गरिने राखेपले जनाएको छ । प्रदेश नं ५ मा प्रतियोगिता आयोजना हुने भए पनि प्याराग्लाइडिङ र गल्फका लागि पूर्वाधार नभएकाले यी दुई खेल कास्की र काठमाडौंमा हुनेछ ।

Advertisment