प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता जेठ १० बाट सुरु

काठमाडौं । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता जेठ १० गतेबाट सुरु हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपालय इन्टरनेशनलको व्यवस्थापनमा जेठ १० गतेबाट २५ गतेसम्म प्रतियोगिता हुने जनाएको छ । टियु क्रिकेट मैदान र मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने प्रतियोगिता यसअघि जेठ ८ गतेबाट सुरु हुने बताईएको थियो । प्रतियोगितामा तीन विभागीय टिम र सात प्रदेशसहित १० टोलीले सहभागीता जनाउने छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टिमले सेमीफाईनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको पहिलो दिन टियुमा त्रिभुवन आर्मी र प्रदेश नम्बर २ र मुलपानीमा नेपाल पुलिस र प्रदेश १ बीच खेल हुने राखेपका सदस्य सचिव केशव कुमार विष्टले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले नेपालमा आन्तरिक खेल धेरै हुँदा क्रिकेटका खेलाडीहरुलाई फाइदा हुने र खेलको पनि बिकास हुने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै सहभागी टोलीका कप्तानहरुले प्रतियोगिताको जर्सी समेत सार्वजनिक गरिएका थिए । प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्नेछ । प्रतियोगितालाई एक्स्पर्ट भिसा एजुकेशन एण्ड भिसा सर्भिसेजले मुख्य प्रायोजन गरेको छ ।

Advertisment