कोरोना पोजेटिभ निको भई डिस्चार्ज

कोरोना भाइरसको सङ्क्रमण भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थप एक व्यक्ति आज अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । दुई पटक लगातार गरिएको नमूनाको परीक्षणमा नतिजा ‘नेगेटिभ‘ आएपछि उहाँलाई आज डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

डिस्चार्ज हुनेमा कञ्चनपुर बेदकोट नगरपालिका–९ का ४० वर्षीय इन्द्र विक हुनुहुन्छ । भारतको उत्तराखण्डमा काम गर्दै आउनु भएका उहाँ गएको चैत महिनामा पश्चिमी सीमानाका गड्डाचौकी हुँदै आफ्नो घर बेदकोट नगरपालिका आई पुग्नुभएको थियो । थ्रोट स्वाबको नमूना पोजेटिभ पाइएपछि उहाँलाई चैत २२ गते सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालले आज प्रकाशित गरेको सूचनामा अहिलेसम्म कोभिड–१९ पोजेटिभ निको भई तीन जना डिस्चार्ज भइसकेको र हाल दुई जना उपचाररत रहेको उल्लेख गरिएको छ । हालसम्म ३८ जना शङ्कास्पद बिरामीको उपचार गरिएको समेत सूचनामा जनाइएको छ । लगातार दुई पटक गरिएको नमूनाको परीक्षणबाट नतिजा ‘नेगेटिभ’ आएपछि यसअघि वैशाख ९ गते सोही अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–५ का ३४ वर्षीय अमृत शाही अस्पतालबाट डिस्चार्ज हुनुभएको थियो ।

दुबईबाट नयाँदिल्ली र काठमाडौँ हुँदै आफ्नो घर धनगढी पुग्नुभएका उहाँलाई कोरोना सङ्क्रमित भएको पुष्टि भएपछि गएको चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । उहाँ सेती प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना हुने कोरोनाको सङ्क्रमित पहिलो व्यक्ति हुनुहुन्थ्यो ।

सोही अस्पतालमा उपचाररत कैलालीको लम्की चुहा नगरपालिकाका २१ वर्षीय राज विकलाई यही वैशाख ७ गते अस्पतालबाट डिस्चार्ज गरिएको थियो । योसँगै सो अस्पतालमा कोरोनाको उपचारपछि घर फर्किनेको सङ्ख्या तीन पुगेको छ । अस्पतालमा कोरोना सङ्क्रमित धनगढी उपमहानगरपालिका–५ की ३४ वर्षीया र कैलाली लम्कीचुहा नगरपालिकाकी ५२ वर्षीया समेत दुई महिलाको उपचार भइरहेको र उहाँहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।(रासस)

Advertisment