तिम्रो शहर, विरानो देश पछि पत्रकार अमरराज नहर्कीको ‘लाखौं तारा आकाशैमा’ गीत बजारमा

तनहुँ, १७ भदौँ । पत्रकारितालाई हतारिएको साहित्य पनि भनिन्छ । भाषासाहित्यमा रुचि राख्नेहरुलाई पत्रकारिताको शब्दसंसार सहज हुन्छ । हतारमा काम गर्ने पत्रकारिता पेशामा रहँदा कहिलेकाँही बचेखुचेको फुसर्दिलो समयलाई उपयोग गर्दे पत्रकार अमरराज नहर्की केही समययता गीत लेख्ने र त्यसलाई म्युजिक भिडियो मार्फत प्रस्तुत गर्न सक्रिय हुनुभएको छ ।

गीतकार अमरराज नहर्की

पत्रकारिता पेशाका सिलसिलामा देखे, भोगे र सुनेका अनुभूतिका सन्दर्भलाई गीतका शब्दमार्फत ढालेर उहाँ म्यूजिक भिडियोमा प्रस्तुत गर्न सफल पनि हुनुभएको छ । त्यसैको पछिल्लो कडीको रुपमा गीत र साहित्य लेखनमा रुचि राख्ने तनहुँका सक्रिय युवा पत्रकार अमरराज नहर्कीले लेख्नुभएको ‘लाखौं तारा आकाशैमा’ बोलको गीत युटुबबाट बजारमा आएको छ । नहर्की नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष एवं गोर्खापत्र दैनिकका समाचारदाता हुनुहुन्छ । साथै डुम्रेस्थित रेडियो बन्दीपुरको स्टेशन म्यानेजर हुनुहुन्छ । यो गीतलाई हाईलाईटस् नेपालले बजारमा ल्याएको हो । गत भदौ ३ गते पत्रकार नहर्कीले बैदेशिक रोजगारीको पीडामा आधारित गीत ‘विरानो देश’ पनि बजारमा ल्याउनु भएको थियो ।

‘लाखौं तारा आकाशैमा’ बोलको गीतमा स्वर तथा सङ्गीत गायक नवराज थापाको रहेको छ । गीतमा गायक थापा र आरती शर्माले अभिनय गर्नु भएको छ । आरतीले यसै गीतबाट मोडलिङ्मा प्रवेश गर्नु भएको हो । गीतमा महेश वाग्लेले ड्रोन र क्यामराबाट छायाङ्कन गर्नु भएको छ । यस गीतमा मोडलको रुपमा चर्चामा रहनु भएका सुदिप पौडेलले पहिलो पटक निर्देशन गर्नु भएको छ । पत्रकार नहर्कीले लेखेका धेरै गीतहरु भावुक खालका रहेका छन् । यो गीत भने युवतीको सौन्दर्यता वर्णनमा केन्द्रित छ ।

‘लाखौं तारा आकाशैमा तर तिमी हौ जून
स्वभावमा पनि तिमी नम्बरी सून ……..।’

पत्रकार नहर्कीले लेख्नु भएको राज सिग्देलको आवाज र सुदिप सेढाईको सङ्गीत रहेको ‘तिम्रो सहर’ नामक गीत नौ महिना अघि बजारमा आएको थियो । “ दुःखी छु, प्राण भन्दा प्यारो लाग्छ राना गाउँ हाम्रो” लगायतका गीतका पनि म्यूजिक भिडियो आईसकेको छ । ।

गायक नवराज थापा र गीतकार अमरराज नहर्की

“देशमा कोरोना भाईरसको सङ्क्रमण पैmलिरहेकोले घरमै धेरै समय वितिरहेकोले गीत लेखनलाई बढी समय दिन सकिएको छ”, पत्रकार नहर्की भन्नुहुन्छ । गीत लेखनको लागि माग आईरहेको र अब चाँडै नै लोकगीत पनि बजारमा ल्याउने तयारी भईरहेको गीतकार नहर्कीले बताउनु भयो ।

Advertisment