मानवअधिकारको सम्मान, संरक्षण र सम्बर्द्धनमा समाजका सवै वर्गको योगदान आवश्यक ः राष्ट्रपति भण्डारी

 

काठमाडौं, २५ मङसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले मानवअधिकारको सम्मान, संरक्षण र सम्बर्द्धन एवम् कार्यान्वयनलाई सुनिश्चित गर्न समाजका सवै क्षेत्र, पेशा, व्यवसाय र वर्गको योगदान आवश्यक रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले यस अवसरमा मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनताको रक्षा गर्दै सबै जातजाति, भाषा, संस्कृति तथा सम्प्रदाय बीच पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यवद्धता सुदृढ बनाउन सम्बद्ध सबै पक्ष र निकायलाई मानवअधिकारको मर्म तथा भावना आत्मसात् गर्ने प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।

सन्देशको पूर्ण विवरण

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा दिनुभएको शुभकामना सन्देश

नेपालको संविधानले नागरिक तथा राजनीतिक अधिकारसहित आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संरक्षण तथा सम्बर्द्धन गर्दै विधिको शासन कायम गर्ने प्रावधानलाई उच्च महत्वका साथ अंगीकार गरेको छ । समावेशीकरणको नीतिद्वारा सबै वर्ग र समुदायका सिमान्तकृत नागरिकलाई राज्यको मूलधारमा समाहित गर्न पनि हाम्रो संविधानले मार्ग प्रशस्त गरेको छ । आधारभूत मानवअधिकारको प्रवर्द्धन र कार्यान्वयनका लागि संवैधानिक आयोग तथा विभिन्न निकायहरू क्रियाशील रहेका छन् । संविधानद्वारा प्रत्याभूत गरिएका मौलिक अधिकारको प्रभावकारी कार्यान्वयनबाट नै न्याय र समानतामा आधारित सामाजिक,आर्थिक व्यवस्था कायम भई ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्न सकिन्छ भन्ने मलाई लागेको छ ।

मानवअधिकारको सम्मान, संरक्षण र सम्बर्द्धन एवम् कार्यान्वयनलाई सुनिश्‍चित गर्न समाजका सवै क्षेत्र, पेशा, व्यवसाय र वर्गको योगदान आवश्यक रहेको मैले महसुस गरेको छु । अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको यस अवसरमा मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनताको रक्षा गर्दै सबै जातजाति, भाषा, संस्कृति तथा सम्प्रदाय बीच पारस्परिक सद्‍भाव, सहिष्णुता र ऐ‌क्यवद्धता सुदृढ बनाउन सम्बद्ध सबै पक्ष र निकायलाई मानवअधिकारको मर्म तथा भावना आत्मसात् गर्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछु  ।

धन्यवाद ।

 

Advertisment