लायन्स गण्डकी प्रदेशद्वारा १५ जना विद्यार्थीलाई कम्प्युटर तालिम

पोखरा । लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशले विपन्न तथा जेहन्दार विद्यार्थीलाई कम्प्युटर तालिम निःशुल्क प्रदान गर्न सुरु गरेको छ । ग्लोबल आइटी एजुकेशन अमरसिंहचोकमा बुधबार एक कार्यक्रमबीच तालिमको उद्घाटन सम्पन्न भएको छ ।

तालिमको उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका जोन चियरपर्सन सुरेन्द्र पौडेलले विद्यार्थीलाई कम्प्युटर तालिम निःशुल्क प्रदान गरेर क्लबले उदाहरणीय कार्य गरेको बताए । ‘लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशले स्थापनाको छोटो समयमा सामाजिक क्षेत्रमा उल्लेख्य काम गर्न सफल भएको छ,’ उनले भने ।

क्लबका अध्यक्ष कोपिला श्रीसको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै डिष्ट्रिक्ट चियरपर्सन तथा ग्लोबल आइटीका सञ्चालक विकास भुर्तेलले २१औं सताब्दीमा कम्प्युटर शिक्षाको महत्व धेरै रहेकाले राम्रोसँग ज्ञान हासिल गर्न विद्यार्थीलाई आग्रह गरे ।

कार्यक्रममा क्लबका द्वितीय उपाध्यक्ष उषा हिस्की मगर, क्लबका सचिव, पोखरा महानगरपालिका कार्यकापालिका सदस्य तथा पोखरा २४ का वडा सदस्य सन्तु सुवेदी, क्लबका कोषाध्यक्ष सुशीला रामदाम, क्लबका मेम्बर सोनु श्रेष्ठ लगायतले बोलेका थिए ।

१५ जना विद्यार्थीले ३ महिनासम्म कम्प्युटरको डिप्लोमा कोर्श अध्ययन गर्ने क्लबका अध्यक्ष कोपिना श्रीसले जानकारी दिइन् ।‘ तालिमका लागि क्लबले १ लाख ३० हजार रुपैयाँ खर्च गर्नेछ,’ उनले भनिन् । क्लबका डाइरेक्टर वीरेन्द्र कुमार पुन (हाल जापान) र सुरेन्द्र थापा (हाल दक्षिण कोरिया) को आर्थिक सहयोगमा तालिम प्रदान गर्न लागिएको उनले जानकारी दिइन् ।

यसैबीच, क्लबले नयाँ सदस्यलाई स्वागत गरेको छ । लायन्समा प्रवेश गरका सदस्यलाई खादा तथा माला लगाएर स्वागत गरिएको हो ।

Advertisment