सन्दीपले अस्ट्रेलियाको बिग बासमा शनिबार पहिलो खेल खेल्ने

काठमाडौँ, १७ पुस । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग बास लिगमा यस यामको पहिलो खेल शनिबार खेल्नु हुने भएको छ ।

चौध दिनको अनिवार्य क्वारेन्टाइनको समय सकिएपछि लामिछानेले पहिलो खेल उहाँको पूरानो क्लब मेलवर्न स्टार्सविरुद्ध खेल्न लाग्नु भएको हो । लामिछानेले मेलवर्न स्टार्सविरुद्धको खेल खेल्ने पक्का भएको उहाँका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिनुभयो । होबार्ट हुरिकेन्समा आवद्ध लामिछानेले कोरोना भाइरसको सङ्क्रमणका कारण यस यामका सुरुआतका ६ खेल गुमाउनुभएको थियो ।

नेपालमै छँदै कोरोनाबाट सङ्क्रमित भएका कारण लामिछानेलाई बिग बास लिग खेल्नका लागि अष्ट्रेलिया जान ढिला भएको थियो । अस्ट्रेलिया पुगेपछि पनि अनिवार्य १४ दिन क्वारेन्टाइन बस्नुपर्ने भएका कारण उहाँ प्रारम्भका ६ खेल खेल्नबाट वञ्चित हुनुभएको शिवाकोटीले बताउनुभयो । लामिछाने बुधबार क्वारेन्टाइन मुक्त हुनुभएको हो । उहाँ सम्मिलित टोली होबार्ट सातौँ खेल खेल्ने तयारीमा छ । हालसम्म खेलेका ६ खेलमा होबार्ट चारमा जित तथा दुई खेलमा हारका साथ आठ टोली सम्मिलित बिग बासको तेस्रो स्थानमा रहेको छ ।

बिग बास खेल्न लामिछाने गत मङ्सिर ३० गते अस्ट्रेलिया जानुभएको हो । क्वारेन्टाइन अवधि सकिए पछि उहाँ नियमित अभयासमा जुट्नुभएको व्यवस्थापक शिवाकोटीले बताउनुभयो । लामिछानेले खेल्ने शनिबारको खेल नेपाली समय अनुसार बिहान पौने १२ बजे सुरू हुने बताइएको छ । उहाँले तेस्रो पटक बिग बास लिग खेल्न लाग्नुभएको हो । लामिछानेले यसअघि दुई यामको बिग बास मेलवर्न स्टार्सबाट खेल्नुभएको थियो । ति दुई याममा उहाँले कूल २० खेल खेल्दै २६ विकेट लिनुभएको थियो । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने क्रममा लामिछाने कोरोनाबाट सङ्क्रमित भएपछि केही समय आराम गर्दै त्यसबाट मुक्त भएपछि मात्र उहाँ अस्ट्रेलिया उड्नुभएको थियो ।

Advertisment