देशभरका स्थानीय सरकारहरु “सबैका लागि पर्याप्त स्वच्छ खानेपानी र सरसफाई”को योजना बनाउदै

काठमाडौं, देशभरका ७ सय ५३ वटै स्थानीय सरकारहरु आफ्नो क्षेत्रका नागरिकहरुलाई पर्याप्त र गुणस्तरीय पानी उपलब्ध गराउने योजना बनाउन अग्रसर भएका छन् ।
खानेपानी र सरसफाईको क्षेत्रमा काम गर्ने स्मार्ट वास प्रा.लि.ले हालै राजधानी आयोजना गरेको वेविनारमा खानेपानी तथा सरसफाईको क्षेत्रमा कार्यरत विज्ञहरुले यसको जानकारी दिनुभएको हो ।

सो कार्यक्रममा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै खानेपानी तथा ढल व्यवस्थापन विभागका डा.रजित ओझाले संयुक्त राष्ट्र संघले निर्धारण गरेको दीगो विकासका  लक्ष्यहरुलाई हासिल गर्ने राष्ट्रिय कार्यक्रम अनुरुप एनवासको कार्यक्रम तय गरेर देशभर कार्यान्वयनमा लगिएको बताउनुभयो ।

उहाँले नेपालको संविधानले खानेपानी र सरसफाईको क्षेत्रमा काम गर्न स्थानीय तहहरुलाई अधिकार दिएको र आफ्नो पालिकाभित्रका हरेक बासिन्दाको जीवनसंग  प्रत्यक्ष सरोकार राख्ने विषय भएकोले यस क्षेत्रमा स्थानीय सरकारलाई नै जिम्मेवार बनाउने ढंगले कार्यक्रम तयार गरिएको बताउनुभयो ।

खानेपानी र सरसफाईको सुविधा सर्वव्यापी, न्यायोचित र पहुँचयोग्य बनाउने कार्यमा स्थानीय सरकारहरुलाई सक्षम बनाउन खानेपानी मन्त्रालय,विभाग र खानेपानी तथा सरसफाईको क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको प्रयासमा कामको थालनी पनि गरिएको छ । यसका लागि विभागले विभिन्न  सूचना लिन एक दर्जन एप्स प्रयोगमा ल्याएको छ ।
यी एप्समार्फत स्थानीय सरकारले आफ्नो सीमानाभित्र खानेपानीको अवस्थाको अद्यावधिक जानकारीको निमित्त खानेपानीको सुविधा प्राप्त जनसंख्या, खानेपानीको अभाव भएका जनसंख्या, सञ्चालन भएका खानेपानी आयोजनाहरु, तिनको अवस्था, क्षमता विस्तार गर्नसक्ने संभावना, खानेपानीका स्रोतहरु, स्रोत उपयोगको अवस्था, स्रोत संरक्षणको अवस्था, सतही स्रोतले नसमेट्ने स्थानमा भूमिगत स्रोतको अवस्था, लिफ्टिड.को संभावना, अन्य जिल्ला वा अन्य पालिकाहरुसंग साझेदारी वा समझदारीमा ठूला आयोजना सञ्चालन गर्न सक्ने अवस्था, नयाँ आयोजना निर्माण वा पुराना मर्मत संभार वा स्तरोन्नतिमा लाग्ने अनुमानित रकम, आयोजनाहरु सञ्चालन गर्न आवश्यक जनशक्ति, खानेपानीको गुणस्तर मापनको अवस्था, गुणस्तर कायम गर्न गर्नुपर्ने कार्य र आवश्यक स्रोत, साधन र जनशक्ति, खानेपानी आयोजनाहरुको सञ्चालनमा स्थानीय सहभागिता, उपभोक्ता समितिहरुको अवस्था, खानेपानी महसुल, सञ्चालन खर्च र मर्मत संभारको अवस्था, फोहर मैला व्यवस्थापनका सम्बन्धमा हाल अपनाईको अवस्था, दीगो र स्थायी समाधानको संभावना, ढल निकास र प्रशोधनको वर्तमान अवस्था र संभावना जस्ता विषयमा सूचना पठाउने छन् र तिनलाई संकलन गरी प्रशोधन गरेर विभागले हरेक पालिकाको खानेपानी तथा सरसफाईको प्रतिवेदन तयार पार्दछ ।
त्यसको आधारमा हरेक स्थानीय सरकारलाई एक दशकभित्र हरेक घरमा एक धारा पुर्याउन, हरेक धाराबाट पर्याप्त शुद्ध पानी उपलब्ध गराउन र विश्वस्तरीय सरसफाई कायम गराउन आवश्यक कार्यक्रम तर्जुमा गरी बजेटको अनुमानित लागत तयार पारिनेछ ।
सुरु पनि भैसक्यो

वेविनारमा सहभागी जनप्रतिनिधिहरुले खानेपानी र सरसफाई जीवनको आधार भएकोले आफ्नो पालिकाले यसलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको थियो ।
धुलिखेल नगरपालिका प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जुले पानीको पर्याप्तता नै जीवन र सुखको आधार भएकोले त्यसको प्रत्याभूति गर्ने कार्यलाई आफ्नो नेतृत्वले विशेष प्राथमिकता दिएको बताउनुभयो । उहाँले एक घर एक घारा अन्तरगत १८ सय घरमा पानी पुर्याइ सकिएको, खानेपानीका क्षेत्रमा हाल विद्यमान र भविष्यमा आइपर्ने समस्या केलाउने,समाधान निकाल्ने,खानेपानीका स्रोतको संरक्षण गर्ने, फोहर पानीको प्रशोधन र पुनप्र्रयोगलाई प्रबर्धन गर्ने,बर्षाको पानी संकलन ,प्रशोधन र वितरण गर्ने कार्यहरु भैरहेको पनि बताउनुभयो ।
नेपाल नगरपालिका संघका समेत अध्यक्ष रहनुभएका ब्याञ्जूले संघले सबै नगरपालिकाहरुलाई खानेपानी तथा सरसफाई ऐन निर्माणको लागि उत्प्रेरित गरिरहेको,सहलगानीमा सुरु हुने आयोजनाहरुमा २० करोडदेखि १ अर्ब सम्म संघीय सरकारले अनुदान दिने व्यवस्था गराइएको, बिल एण्ड मिलिन्दा फाउण्डेशनको सहयोगमा देशका ५ नगरमा सञ्चालित ढल प्रशोधन आयोजना अरु १० नगरमा लैजाने तयारी भैरहेको ग्रामीण खानेपानी आयोजनामा हाल ७ । ८ अर्ब लगानी गरिरहेको विश्व बैंकलाई दोस्रो चरणमा थप १० अर्ब लगानी गर्न सहमत गराइएको बताउनुभयो ।
उहाँले नेपाललाई सन २०३० सम्म सबै नागरिकले शुद्ध खानेपानी खाएको देश बनाउने लक्ष्य पूरा गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा चितवनको इच्छामनकामना गाउँपालिकाकी प्रमुख गीताकुमारी गुरुड.ले आफ्नो पालिकाले आरआरएन र  डब्ल्युएचएच नामक गैरसरकारी संस्थाहरुको सहयोगमा घरघुरी र जनसंख्याको गणना गरेर खानेपानीको आयोजनाहरु अगाडि बढाएको बताउनुभयो । उहाँले खानेपानीका मुहानहरुको पहिचान र तिनको संरक्षण गर्दै मुहानदेखि तल्लोभेगमा पानीको आपूर्तिका कार्यक्रमहरु सञ्चालन भएको जानकारी दिंदै मुहानभन्दा माथिल्लो भेगमा रहेका बस्तीमा लिफ्टिड. पद्धतिबाट पानी लैजाने र आकाशे पानी संकलन गरेर वितरण गर्ने कार्य गरिएको बताउनुभयो ।
उहाँले आफ्नो पालिकाले आउदा केही बर्षमा सबैकालागि खानेपानी पुर्याउने र त्यसपछि पानीको गुणस्तर अभिवृद्धि र निर्मित संरचनाहरुको मर्मतसंभार र स्तरोन्नतिमा ध्यान दिने बताउनुभयो ।
त्यस्तै सिरहाको धनगढी नगरपालिकाका प्रमुख हरिनारायण चौधरीले यूनिसेफको सहयोगमा नगरमा खानेपानीको दीर्घकालीन योजना बनाउने कार्य सम्पन्न भएको बताउनुभयो । उहाँले दिगो विकास कार्यक्रमले राखेका लक्ष्यहरु पूरा गर्न नगरपालिकालाई सन २०३० सम्म थप डेढ अर्ब रुपैया आवश्यकता हुने बताउदै यसका लागि नगरपालिकाले खानेपानी तथा सरसफाई कोष नै स्थापना गरेको बताउनुभयो ।
कमजोरीमा ध्यान

कार्यक्रममा स्मार्ट वासका प्रमुख कार्यकारी अधिकृत ई.हरिप्रसाद  शर्माले खानेपानी तथा सरसफाईको क्षेत्रमा दिगो विकास लक्ष्य हासिल गर्ने क्रममा देखिएका कमजोरीका बारेमा प्रकाश पार्नुभएको थियो ।
उहाँले खानेपानी र सरसफाई(खास गरी ढल प्रशोधन)का क्षेत्रमा काम गर्ने विभिन्न तहका प्राविधिकहरुको कमी रहेको, पुराना खानेपानी योजनाहरु पुनस्थापना गर्नुपर्ने अवस्थामा पुगेको,खानेपानी आयोजनाहरुको मर्मत,सभार र सञ्चालनमा वित्तिय स्रोतको अभाव भएको,खानेपानीको गुणस्तर मापन र गुणस्तर कायम राख्न गर्नुपर्ने क्लोलिनेसनको सुविधा सबै ठाँउमा नरहेको जस्ता समस्या देखिएको बताउनुभयो । उहाँका अनुसार हालसम्म जम्मा साढे २४ प्रतिशत नेपालीले मात्र शुद्ध खानेपानी पाएका छन् ।बाँकी साढे ७५ प्रतिशतलाई १० बर्षमा शुद्ध पानी पुर्याउने कार्य निकै चुनौतिपूर्ण छ ।
उहाँले खानेपानी आयोजना निर्माणमा साझेदारीको मोडल उपयुक्त रहेको बताउदै यसलाई प्रबर्धन गर्नुपर्ने बताउनुभयो भने ढलप्रशोधनमा निजी क्षेत्रलाई सहभागी गराउन उपयुक्त हुने बताउनुभयो । उहाँले ढल निकास र प्रशोधनको सुविधा अहिले नगण्य सरह भएकोले २० प्रतिशत ढलको प्रशोधन हुने अवस्थामा पुर्याउन लगानी पनि ठूलो चाहिने बताउनुभयो ।
स्मार्ट वास सोलुसन्सका अध्यक्ष ई.रामदीप साहको सभापतित्वमा भएको सो वेबिनारमा प्रस्तुत गरिएका कार्यपत्रमाथि पूर्व सचिव ई. सुमन शर्माले टिप्पणी गर्नुभएको थियो । उहाँले खानेपानी र सरसफाईको जिम्मेवारी स्थानीय सरकारले नै लिनुपर्ने बताउदै तिनीहरुलाई स्रोत,साधन,सीप र अनुभवले पूर्ण बनाउने काममा संघीय सरकारका निकाय,  गैरसरकारी संस्थाहरुले सघाउनु पर्ने बताउनुभयो । उहाँले दिगो विकास लक्ष्य हासिल गर्न राष्ट्रिय योजना आयोगले तयार पारेको कार्यक्रम र त्यसैसंग तादात्म्य रहने गरी निर्माण भएको वास कार्यक्रमले आयोजनाहरुमा एकरुपता ल्याउदै सन २०३० सम्म सबै नेपालीलाई पर्याप्त सुरक्षित स्वच्छ खानेपानी र सरसफाई सेवा पुर्याउन सघाउने विश्वास व्यक्त गर्नुभएको थियो ।
स्मार्ट वासकी डाइरेक्टर गिरिजा दाहालले सञ्चालन गर्नुभएको सो कार्यक्रममा पूर्वमन्त्री गणेश साहले स्वागत मन्तव्य दिनुभएको थियो । उहाँले जीवनको महत्वपूर्ण आधारको रुपमा रहेको पानी सबै नेपालीलाई पर्याप्त मात्रामा पुर्याउने कार्यलाई सम्पन्न गर्न स्थानीय सरकारहरु कम्मर कस्नुपर्ने बताउनुभयो ।  उहाँले हरेक स्थानीय निकायलाई पानीको स्रोत संरक्षण,पानी संकलन, प्रशोधन,वितरण र मूल्य निर्धारण जस्ता समग्र पक्षलाई समेटर ऐन निर्माण गर्न आग्रह गर्नुभयो । पानीमा हुने लगानीको प्रतिफल अनमोल भएको बताउनुभयो । पर्वमन्त्री साहले विद्यालयहरुमा खानेपानी, शौचालयको उचित प्रबन्ध र महिनावारीमा सरसफाई गर्ने सुविधाको अभावका कारण विद्यालयमा छात्राहरुको पढाई छाड्ने प्रवृत्ति रहेकोले त्यसलाई रोक्न विद्यालयहरुमा पनि पर्याप्त पानीको सुविधा आवश्यक रहेको बताउनुभयो ।
स्मार्ट वासका अध्यक्ष ई.रामदीप साहले सहजीकरण गर्नुभएको सो कार्यक्रममा हेल्भेटासका देशीय प्रतिनिधि डा.भरत पोखरेलले दिगो विकासका लक्ष्यले निर्धारण गरेको सबैका निमित्त शुद्ध पानी पुर्याउन सरकारले ल्याएको राष्ट्रिय खानेपानी तथा सरसफाई नीति र कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि सघाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभएको थियो ।
उहाँले नेपालमा अव पानीको पहुँचको कुराबाट गुणस्तरीय पानीको कुरा गर्ने अवस्था आएको बताउदै अब खानेपानी र सरसफाईलाई शीरमा राखेर एकीकृत पानी व्यवस्थापनको कुरा गर्नुपर्ने समय आएको पनि बताउनुभयो ।
कार्यक्रम खानेपानी तथा ढल निकास निकास विभाग, नेपाल नगरपालिका संघ, परिवर्तनका मुद्दाहरु (एजेण्डा फर चेञ्ज)का नेपालका सदस्यहरु हेल्भेटास,वाटर एड, केयर तथा वेल्थुङजेरहाइलफ संस्थाको सहयोगमा आयोजना भएको थियो ।

Advertisment