जुनसुकै देशबाट भए पनि प्रभावकारी खोप ल्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, ११ जेठ \ प्रधानमन्त्री एवं कोभिड–१९ रोकथाम तथा नियन्त्रण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै देशबाट भए पनि प्रमाणित, प्रभावकारी र ढुवानी सहज गर्न सकिने खोपका लागि पहल गर्न सम्बन्धित मन्त्रालय र केन्द्रका प्रमुखलाई विशेष निर्देशन दिनुभएको छ ।

कोभिड रोकथामसम्बन्धी अध्यादेश जारीपछिको समितिको पहिलो बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘खोप ल्याउन सकियो भने कोभिडविरुद्धको लडाइँ जितिन्छ । अन्यथा लडाइ गरिरहनुपर्ने भयो ।’’ उहाँले कोभिड १९ विरुद्धको लडाइँ जित्न उपलब्ध स्वास्थ्य सेवालाई चुस्त दुरुस्त बनाउँदै खोपको समुचित व्यवस्था गर्नेतर्फ ध्यान केन्द्रित गर्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले जनताको जीवन बचाउने सरकारको प्राथमिकता भएकाले उपचारमा कुनै किसिमको ढिलाइ गर्ने छुट कसैलाई नभएको समेत बताउनुभयो ।

सरकारले हालै ल्याएको कोभिड १९ सम्बन्धी अध्यादेश बमोजिम गठित कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई आवश्यक जनशक्ति र स्रोत साधन सरकारले तत्कालै उपलब्ध गराउने समेत उहाँले बताउनुभयो । प्रधानमन्त्रीले केन्द्रबाट संक्रमणको सम्पूर्ण तथ्य तथ्याङ्क हासिल गरी उपचार सेवाको अवस्था, चिकित्साकर्मी र स्वास्थ्य उपकरणको उपलब्धताबारे अध्यावधिक जानकारी लिने र कमी भएका स्थानमा आपूर्ति गर्नका लागि संयोजन हुनुपर्ने बताउनुभयो ।

Advertisment