साफ च्याम्पियनसीपमा नेपाल

काठमाडाैं । सन् १९८६ मा एएफसी महिला च्याम्पियनसीप खेल्दै नेपाली महिला टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको हो । हङकङमा भएको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग १–० ले हारेको थियो । त्यसयता ३३ वर्षे यात्रामा विभिन्न प्रतियोगितामा नेपालले ६ पटक फाइनल खेलिसकेको छ । र, यसमा सधै भारत तगारो बन्दै आएको छ ।


साफ च्याम्पियनसीपमा तीनपटक, सागमा दुईपटक र यसै महिना भारतमा सम्पन्न हिरो गोल्डकपमा नेपालले फाइनल खेलेको थियो । जहाँ ५ प्रतियोगिताको उपाधि जित्ने नेपालको बाटोमा भारत तगारो बन्दै आएको छ । साफका सुरुवाती तीन संस्करणमा नेपाललाई हराउँदै भारतले उपाधि जितेको थियो भने भारतमै भएको चौथो संस्करणमा नेपाल सेमिफाइनलबाटै बाहिरीएको थियो ।

बंगलादेशमा सन् २०१० मा भएको पहिलो साफमा भारतसँग १–० ले हार्दै नेपाल उपाविजेता बनेको थियो । समुह चरणदेखि सेमीफाइनलसम्म ३४ गोल गर्दै कुनै गोल नखाएको नेपाल फाइनलमा भारतसँग १–० ले पराजित भयो । २०१२ मा श्रीलंकामा भएको दोस्रो संस्करणमा पनि भारतसँगै ३–१ ले हारेर नेपाल उपविजेतामा सिमित भयो । पाकिस्तानमा भएको तेस्रो साफमा नेपालले भारतविरुद्ध कमजोर प्रदर्शन गर्यो । भारतसँग ६–० ले हारेर नेपालले अहिलेसम्मकै खराब रेकर्ड बनायो । लगातार तीनपटक फाइनल पुगेको नेपाल भारतमा भएको चौथो साफमा भने सेमिफाइनलमै रोकियो । भारतसँग ३–१ ले हार्दै नेपाल घर फर्कन बाध्य भयो । त्यसैले पनि दक्षिण एसियाली क्षेत्रका कुनै पनि प्रतियोगितामा नेपाल र भारतलाई सधै उपाधिको दाबेदार मानिन्छ ।

मंगलवारदेखि विराटनगरमा शुरु हुने प्रतियोगितामा नेपाल तुलनात्मक रुपमा सहज समुहमा छ । नेपालको समूहमा बंगलादेश र भुटान छन् । त्यस्तै, समूह बी मा भारत, माल्दिभ्स र श्रीलंका छन् । पहिलो पटक नेपालमा हुन लागेको पाँचौं संस्करणमा सहभागी दक्षिण एसियाका ६ राष्ट्रलाई २ समुहमा विभाजन गरी लिग कम नकआउटका आधारमा खेलाईनेछ ।

यसपटक समुह चरणमा नेपालका लागि बंगलादेश बलियो प्रतिद्धन्द्वी हो । साफमा बंगलादेशसँग ५ पटक खेल्दा नेपालले चारमा जित हात पारेको छ भने एक खेल बराबरी गरेको छ । समुह चरणमा एक मात्र खेल जितेपनि सेमीफाइनलमा पुग्न सकिने हुँदा नेपालका लागि मुख्य चुनौती भारतनै रहनेछ । तर हालै सम्पन्न हिरो गोल्डकपमा भारतलाई २–१ ले हराएको नेपाली टोलीको यसपटक मनोबल उच्च छ । साफ च्याम्पिनयसीपकै तयारीका लागि खेलिएको हिरो गोल्डकपमा राम्रो प्रदर्शन गरेकोले पनि घरेलु भूमिमा नेपालले ऐतिहासिक प्रदर्शन गर्नेमा खेलाडी पनि विश्वस्त छन् ।

Advertisment