चुँदीरम्घालाई साहित्यिक गतिविधिको केन्द्र बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल

काठमाडौँ, (रासस) :नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदी रम्घा क्षेत्रलाई विश्वका नेपाली भाषा, साहित्य र संस्कृतिकर्मीहरूको गन्तव्यस्थलका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

प्रस्तावित भानु साहित्य उद्यानसम्बन्धी काठमाडौँमा आज भएको वृहत भेलामा वरिष्ठ नेता पौडेलले चुँदीमा भानुभक्तकालीन त्यस क्षेत्रको संस्कृति झल्कने तथा रम्घा डाँडामा बाटुले घर बनाएर रामायणको सचित्र लेखन र नेपाली साहित्यकारहरुको तस्बिर राख्नुपर्ने सुझाव दिनुभयो । सबै प्रदेशका सात प्रसिद्धधाम पनि त्यहाँ बनाउन सकिने भन्दै उहाँले साहित्यिक गतिविधिको केन्द्रका रूपमा चुँदीको विकास कार्यअघि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा डा जयराज आचार्यले विशिष्ट महत्व रहेको चुँदी रम्घालाई स्वदेशी विदेशी भाषा साहित्यप्रेमीको आकर्षकस्थलका रूपमा विकास गर्न सकिने बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य पुष्परमण वाग्ले, पूर्वसचिव शरदचन्द्र पौडेल र साहित्यकार प्रभा कैनीले आवश्यक नीति, कार्यक्रम तथा पूर्वाधार बनाएर उक्त क्षेत्रको विकासका लागि अनवरतरुपमा लाग्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

सो भेलाले प्रा डा जयराज आचार्यको अध्यक्षतामा प्रस्तावित भानु साहित्य उद्यान कार्यसमिति गठन गरेको छ । संस्थाको संरक्षकमा कांग्रेसका वरिष्ठ नेता पौडेल रहनुभएको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विजयराज भट्टराई, उपाध्यक्षद्वय एकबहादुर राना र प्रा डा व्रतराज आचार्य, महासचिव काशीराज आचार्य, कोषाध्यक्ष रामचन्द्र अधिकारी, सचिव डा शेषरमण न्यौपाने, रामकुमार श्रेष्ठ र बाबुरामसिंह थापा चयन हुनुभएको छ । सदस्यमा कर्णबहादुर रानाभाट, धर्मेन्द्र झा, लक्ष्मी आचार्य, नहकुल अधिकारी, श्रीभक्त आचार्य, ओमकुमारी पौडेल, शङ्करनारायण श्रेष्ठ, श्याम मौराती, प्रभा भट्टराई, हरिसिंह गुरुङ र वृन्दा रानाभाट हुनुहुन्छ । विधान मस्यौदा समितिमा यदुनाथ खनाल र बाबुराम आचार्य हुनुहुन्छ । कार्यक्रममा डा जयराज, डा व्रतराज र काशीराजले संस्था गठनको उद्देश्य, संरचना र विधानबारे प्रकाश पार्नुभएको थियो ।

Advertisment