अधिक भारसहित गुडाइन्छन् टिप्पर

काठमाडौँ । बढी भार बोकेका सवारी साधनले राजमार्गमा गर्ने क्षति रोक्न काभ्रेपलाञ्चोकमा बिहीबारदेखि सवारी साधनको तौल जोखिने भएको छ । तर राज्यका संयन्त्रले नियमित अनुगमन तथा कारबाही नगर्दा डाला थपेर बढी भार बोक्ने टिप्परको बिगबिगी रोकिएको छैन । डाला थपेर निर्धक्क निर्माण सामग्री बोक्दा पनि प्रहरी प्रशासन, यातायात व्यवस्था कार्यालयले त्यस्तो कार्य नदोहोरिने सुनिश्चित गर्न सकेको छैन । नियामक निकायले सामान्य मात्रै कारबाही गर्दा टिप्पर सञ्चालक हौसिएको सर्वसाधारणको गुनासो छ ।

काठमाडौँ उपत्यकामा मात्रै दुई सयको हाराहारीमा टिप्परले डाला थपेर स्वरूप परिर्वतन गर्दै निर्माण सामग्री बोक्ने गरेको अनुमान गरिएको छ । तीमध्ये आधाभन्दा धेरै भक्तपुरमा छन् । त्यसरी डाला थपेर स्वरूप परिवर्तन गर्नु गैरकानुनी कार्य हो ।

भक्तपुरमा ठूला टिप्परमा मात्रै नभएर साना आकारका सवारीसाधनले डाला थपेर बालुवा र इँटा बोकिरहेको विकास मानन्धरले गुनासो गर्नुभयो । उहाँले प्रहरीसँग डाला थप्ने व्यवसायीको के कुरा मिल्छ र नियमित रूपमा अनुगमन हुँदैन भन्ने कुरा थाहा पाउन नसकेको बताउनुभयो । उहाँले दैनिक त्यसरी गुड्ने सवारी साधनलाई प्रहरीले चेकजाँच समेत नगरेको गुनासो गर्नुभयो ।  काठमाडौँ उपत्यकामा मुख्य रूपमा धादिङ, काभ्रेपलाञ्चोक र नुवाकोटबाट निर्माण सामग्री भित्रिन्छ । अधिकांश टिप्पर राति चल्छन् र अँध्यारोको फाइदा उठाउँदै थपिएका डालामा ओभरलोड बोक्छन् । ओभर लोडकै कारण उपत्यका भित्रिने मुख्य सडकको अवस्था निक्कै कमजोर बनेको छ। उपत्यका भित्रिएपछि पनि त्यस्ता सवारीसाधनको चेकजाँच हुँदैन। काठमाडौँ उपत्यकाका ठूला आयोजना र विशेष गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आवश्यक पर्ने माटो देखाउँदै टिप्परमा डाला थपिएका छन्। सङ्गठित रूपमै ठूला आयोजनाका नाममा टिप्परमा डाला थपेर माटो बोक्न थालिएको लामो समय भइसकेको छ।

काठमाडौँ, भक्तपुर र ललितपुरका ग्रामीण भेगबाट समेत डाला थपिएका टिप्परले निर्माण सामग्री बोक्न थाले पनि प्रहरी प्रशासन भने यसबारे बेखबरजस्तै छ। एक महिनाअघि उपत्यकामा एकै पटक दर्जनाैँ डाला चलाएको टिप्परलाई नियन्त्रणमा लिए पनि सामान्य ट्राफिक जरिवाना गरेर छाडिएको थियो। तिनै टिप्परले पुनः निर्माण सामग्री बोक्न थालिसकेका छन्। तत्कालीन अवस्थामा जगातेमा नियन्त्रण परेका टिप्परलाई डाला नहटाई छाडिएकाले समस्या बढेको गुनासो स्थानीयवासीको छ। डाला थपिएका टिपर दिउँसो सडकमा देखिँदैनन्। दिउँसो पक्की पुलमुनि, पेट्रोल पम्पभित्र, सडक किनाराको तल्लो भागमा लुकाएर राखिन्छन्। आममानिसको आँखा नपर्ने ठाँउमा लुकाएर राख्ने गरिएका डाला थपिएका टिपर साँझ परेपछि हुरुरू सडकमा आउँछन्।

कतिपय स्थानमा भने प्रहरीचौकीको आडमै डाला थपिएका टिप्परको पार्किङ गरिएको हुन्छ। धेरैजसो राजमार्ग छेउमै पार्किङ गरी राखिएका छन्। प्रहरी वृत्त जगाती भक्तपुरको कार्यालयबाट एक सय मिटरकै छेउमा अरनिको राजमार्गमै डाला थपिएका टिप्परले नियमित रूपमा पार्किङ गर्ने गरेका छन्। टिप्परले भक्तपुरका विभिन्न ठाउँबाट चिसो माटो बोक्ने गरेका छन्। काठमाडौँ उपत्यकामा भक्तपुरका सबै स्थानीय तह, ललितपुरको लेले, चापागाउँ क्षेत्र, काठमाडौँको दक्षिणकाली, चोभार, गोदावरी, टोखा, साँखु क्षेत्रमा डाला थपिएका  निसान र टिप्पर चल्ने गरेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले स्वरूप परिर्वतन गरेर सञ्चालनमा आएका टिप्परलाई नियन्त्रणमा लिने गरेको त बताउनुभयो। तर सडकमा गुड्न नियन्त्रण गर्न नसकिएको स्वीकार पनि गर्नुभयो। उहाँले हरेक दिन ट्राफिक प्रहरीको चेकजाँच हुने भएकाले त्यस्ता सवारीसाधनले कुनै पनि छुट नपाउने बताउनुभयो। यसअघि नियन्त्रणमा लिएका टिप्परलाई डाला कटाएर मात्रै छाडिएको उहाँले दाबी गर्नुभयो।

यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरूले विभागसँगको स्वीकृतिबिना स्वरूप परिर्वतन गर्न नपाउने बताउनुभयो। उहाँले विभागसँगको स्वीकृतिबिना सञ्चालनमा रहेका सवारीसाधनलाई यातायात व्यवस्था ऐनअन्तर्गत कारबाही गरिनेसमेत दाबी गर्नुभयो।

ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागका अधिकारीले कारबाही गरिने दाबी गरे पनि स्वरूप परिवर्तन गरेका टिप्पर उपत्यकामै निर्धक्क रूपमा सञ्चालन भइरहेका छन्। चोरी बाटो प्रयोग गरेर भित्री सडकमा मात्रै नभएर मुख्य राजमार्गमै त्यस्ता सवारी चलिरहँदा सरकारी निकाय बेखबरजस्तै बनेको छ।  बागमती टिप्पर व्यवसायी सङ्घका अध्यक्ष सुरेश खत्रीले ओभर लोड बोक्ने, पानी चुहाउने, डाला थप्ने कार्यमा संलग्नलाई प्रहरी प्रशासनबाट हुने कारवाहीको सम्मान गर्ने बताउनुभयो । उहाँले आफूहरूले समेत समयसमयमा चालकलाई ट्राफिक नियमबारे जानकारी गराउने गरेको बताउनुभयो।

सवारीसाधनबारे कानुनी व्यवस्था

३९. स्वीकृति नलिई हेरफेर गर्न नहुने : (१) सवारी धनीले अधिकार प्राप्त अधिकारीको स्वीकृति नलिई सवारीको रङ, सिट सङ्ख्या, स्वरूप, इन्जिन वा चेसिसमा परिवर्तन हुने गरी सवारीमा हेरफेर गर्न हुँदैन। तर यस उपदफाले सवारीमा सामान्य पार्ट (पुर्जा परिवर्तन गर्न कुनै बाधा पु-याएको मानिने छैन।

(२) उपदफा (१) बमोजिम हेरफेर गर्नु परी स्वीकृति मागेमा अधिकार प्राप्त अधिकारीले आवश्यक जाँचबुझ गरी त्यस्तो हेरफेर गर्न उपयुक्त हुने देखेमा हेरफेर गर्ने स्वीकृति दिन सक्नेछ। तर सवारी निर्माता कम्पनीले सवारीको बनोट सम्बन्धमा निर्धारण गरेको विस्तृत विवरण (स्पेसिफिकेसन)मा परिवर्तन गर्नेगरी स्वीकृति दिइने छैन।

(२क) उपदफा (२) बमोजिम हेरफेरका लागि स्वीकृति दिँदा सवारी दर्ता गर्दा लाग्ने दस्तुरको पचास प्रतिशत दस्तुर लिइनेछ। दफा १६० २ (ख) मा त्यसरी स्वरुप परिवर्तन गर्नेलाई एक हजारदेखि पाँच हजार रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ ।  Source: केशब राज पौडेल   https://gorkhapatraonline.com/

Advertisment