कागजकारखानाका मजदुरले सबै तलब पाउने

एक दशकदेखि बन्द अवस्थामा रहेको पूर्वी नवलपरासीको गैंडाकोटस्थित भृकुटी कागजकारखानाका मजदुरहरुले पाउनु पर्ने तलब पाउने भएका छन् । त्यहाँ कार्यरत कर्मचारीहरुले करिव ३२ करोड रुपैयाँ तलब पाउने भएका हुन् ।
बिहीबार पेपर मिलका प्रतिनिधि रमेश कुमार दाहाल र आधिकारीक ट्रेड यूनियनका मजदुर प्रतिनिधिले तलब दिलाउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उक्त कारखाना निजिकरणपछि भृकुटी पल्प एण्ड पेपर मिलका नामले गोल्छा अर्गनाइजेशनले संचालन गरेको थियो ।
नेपाल ट्रेड यूनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष ललित श्रेष्ठले दिएको जानकारी अनुसार कारखानामा कार्यरत कर्मचारी र मजदुरमध्ये ३ सय २८ कर्मचारीले तलब वापतको रकम पाउने भएका हुन् । सम्झौता भएको मितिले एक वर्षको अवधी भित्र सबै रकम भुक्तानी गर्ने सहमति भएको छ । उद्योग बन्द रहेको मितिदेखि ९२०७६ साल० तलब भुक्तानी हुने दिनसम्मको बेसिक तलबको आधा दिने सहमति भएको श्रेष्ठको भनाइ छ ।सो कारखाना विगत १३ वर्षदेखि बन्द छ । चीन सरकारको सहयोगमा पूर्वी नवलपरासीको गैंडाकोटमा स्थापना भएको कागज कारखाना तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा निजिकरण भन्दै ३२ करोडमा गोल्छा अर्गनाइजेशनलाई बिक्रि गरिएको हो । महेन्द्रराजमार्गमै रहेको कारखाना बन्द भएका कारण जिर्ण छ । त्यहाँ सुरक्षा गार्डले मात्रै हेरचाहा गर्दै आएका छन् ।कारखानाको करिब ४८ बिगाह जग्गा रहेको छ । कारखाना दीवाकार गोल्छाका छोरा हितेस गोल्छाको नाममा रहेको छ । चिनियाँ सहयोगमा ४० वर्ष अघि निर्मित कारखाना भवन जिर्ण छ । भवनको छानो उडाउने जोखिम छ ।

Advertisment