तीनखम्बे अर्थनीति तिनै तहबाट परिचालित हुनुपर्छ : प्रचण्ड

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक संघीयतामा गएको र तीन तहका संरचना निर्माण भएको भन्दै तीनखम्बे अर्थनीति तिनै तहबाट परिचालित हुनुपर्ने बताउनु भएको छ ।

ललितपुरमा आयोजित अन्तर्राष्ट्रिय प्राङ्गारिक कृषि सम्मेलनमा अध्यक्ष प्रचण्डले राज्यका संरचनाहरु, विकासका मोडलहरु पनि समाजवादउन्मुख र संघीय लोकतान्त्रिक गणतन्त्रका संविधानका मर्म र भावना अनुसार निर्देशित हुन जरुरी रहेको बताउनुभएको हो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र अनुकूलको विकासको नयाँ मोडल अघि नबढाए मुलुक संकटमा फस्ने उल्लेख गर्नुभयो । उहाँले विकासको मोडालिटी, राज्यसंरचना र त्यसलाई संचालन गर्ने विधि, प्रक्रिया र कार्यशैली पुरानै रहँदा अन्तरविरोधको स्थिति पैदा हुने समेत बताउनुभयो । अन्तरविरोधका कारण अहिलेसम्म भएका उपलब्धिका सबै प्रयासहरु बीच बाटोमै अलपत्र पर्न सक्ने खतरा हुँदा त्यसतर्फ सचेत रहन सबैलाई आग्रहसमेत गर्नुभयो ।

सम्मेलनले मानव स्वास्थ्यलाई प्रतिकूल हुने कुनै पनि खालको कृषि उत्पादनलाई निस्तेज पारेर अग्र्यानिक कृषि बाली उत्पादनमा जोड दिन ठोस योजना तय गर्ने विश्वास व्यक्त गर्नुभयो । सम्मेलन बुधबारसम्म चल्ने छ ।

Advertisment