फाइजर इन्डिया र सेरमद्वारा भारतमा कोभिड–१९ खोप प्रयोगका लागि निवेदन

नयाँदिल्ली, २६ मङ्सिर । दुई वटा कोभिड–१९ खोप उत्पादक कम्पनी फाइजर इन्डिया र सेरम इन्स्टिच्यूट अफ इन्डिया (एसआइआइ)ले भारतमा कोभिड–१९ को खोप भारतमा आपतकालीन प्रयोगमा ल्याउन भन्दै भारतीय औषधि व्यवस्था विभाग (डिसिजिआइ) समक्ष आवेदन दिएका छन् ।

भारतमा फाइजर कोभिड–१९ का लागि विभाग समक्ष अनुमति माग्न पुग्ने पहिलो विदेशी कम्पनी हो भने सेरम पनि कोभिसिल्ड खोपका लागि आवेदन गर्ने पहिलो भारतीय कम्पनी हो । विभागका एक अधिकारीले भन्नुभयो, “फाइजर इन्डियाले फाइजर–बायोएनटेकको कोभिड–१९ भ्याक्सिन भारतमा आयात र वितरण गर्न अनुमतिका लागि आवेदन दिएको छ ।” यद्यपी खोप भण्डार गर्न आवश्यक पर्ने माइनस ७० डिग्री सेल्सियसको अत्यन्त कम तापमानले भारत जस्ता मुलुकमा यसको वितरणका लागि ठूलो चुनौती छ ।

फाइजरले खोपको आपतकालीन प्रयोगका लागि यस किसिमको अनुमति बेलायत र बहराइनमा पाइसकेको छ । “प्रतिज्ञा गरेझैं सन् २०२० को अन्त्य हुनुअघि नै भारतमै निर्मित खोप कोभिसिल्डको आपतकालीन प्रयोगका लागि सेरमले आवेदन दिएको छ ।

यसले असंख्यको ज्यान बचाउनेछ । भारत सरकार र प्रधानमन्त्री नरेन्द्र मोदीलाई उहाँहरुको अमूल्य सहयोगका लागि धन्यवाद दिन चाहन्छु,” एसआइआइका प्रमुख अदार पुनावालाले एक विज्ञप्तिमा भन्नु भएको छ । हाल, भारतीय स्वास्थ्य अनुसन्धान परिषदद्वारा सह–प्रायोजित कोभिसिल्डको तेस्रो चरणको क्लिनिकल परीक्षण देशका विभिन्न भागमा सञ्चालनमा छ । एसआइआइले विशाल औषधि उत्पादक कम्पनी अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयसँग कोभिसिल्डको उत्पादनका लागि साझेदारी गरेको छ ।

पुनावालाले भारत सरकारले एसआइआइबाट उत्पादित कोभिड–१९ का खोप ३० करोडदेखि ४० करोड डोज खरिद गर्ने बताउनुभयो । यस कम्पनीले हाल प्रतिमहिना ५० देखि ६० लाख डोज उत्पादन गरिरहेको छ र अर्को वर्ष सन् २०२१ को जनवरीदेखि प्रतिमहिना १० करोड डोज उत्पादन गर्ने योजना छ । कोभिसिल्ड खोपलाई २–८ डिग्री सेल्सियस तापक्रममा भण्डार गर्न सकिन्छ ।

भारत सरकारले देशको सबैभन्दा ठूलो खोप अभियान सञ्चालनका लागि पूर्व तयारी शुरु गरिसकेको छ । हाल, भारतमा पाँच किसिमका कोभिड–१९ खोप विकासको लगभग अन्तिम चरणमा पुगेका छन् । गत हप्ता भारतीय प्रधानमन्त्री मोदीले विज्ञले भनेबमोजिम केही हप्ताभित्रै खोप तयार हुने बताउनु भएको थियो । यसैबीच, भारतमा कोरोनाभाइरस सङ्क्रमितको संख्या मंगलबारसम्म ९७ लाख पुगेको छ । भारतमा एक लाख ४० हजार ९९४ जनाको मृत्यु भइसकेको छ ।

Advertisment