सरकारले पुसभित्र तीन लाखको ‘एन्टिजेन’ परीक्षण

काठमाडौँ, ३ पुस । समुदायस्तरमा सङ्क्रमण फैलिएको छ वा छैन भनेर चेकजाँच गर्ने क्रममा नेपाल सरकारले पुसभित्र तीन लाखको ‘एन्टिजेन’ विधिमार्फत कोरोना परीक्षण गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका फोकल पर्सन महेन्द्रप्रसाद श्रेष्ठले परीक्षणका लागि देशभरि नै कर्मचारी खटाइएको र आइतबारदेखि देशैभरि एन्टिजेन परीक्षण शुरु गरिने र दुई सय बढी सक्रिय सङ्क्रमित भएका ठाउँमा उक्त परीक्षण गरिने छ भन्नुभयो ।

यसअघि इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले समुदायस्तरमा सङ्क्रमण फैलिएको अवस्था पत्ता लगाउन ‘सेरो सर्भेलेन्स’ गरेको थियो । अहिलेसम्म पिसीआर विधिबाट १८ लाख ४९ हजार १३६ को कोभिड–१९ परीक्षण गरिएको छ ।

त्यसमध्ये दुई लाख ५० हजार ९१६ सङ्क्रमित, नौ हजार ७५७ जना सक्रिय सङ्क्रमित, दुई लाख ३९ हजार ४१६ जना निको र एक हजार ७४३ जना सङ्क्रमणबाट निको भएका छन् ।

सरकारी ४५ र निजी ३५ प्रयोगशालाबाट अहिले दैनिक करिब सात हजारका दरले पिसीआर परीक्षण भइरहेको छ ।

Advertisment