हिल हिमालयजको शीर्ष गीति भिडिओ ‘हामी मान्छे’ सार्वजनिक

पोखरा | प्रकृति र पर्यावरण संरक्षणका लागि गण्डकी प्रदेशमा क्रियाशिल हिल हिमालयज संस्थाको शीर्ष गीति भिडिओ ‘हामी मान्छे’ सार्वजनिक भएको छ । संस्थाकै युट्युब च्यानल ‘हिल हिमालयज’बाट उक्त गीति भिडिओ सोमबार पोखरामा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो ।
गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङले क्लिक गरी उक्त भिडिओ सार्वजनिक गरे । प्रकृतिलाई पुनर्जीवन दिने उद्देश्यले थालिएको युवाहरुको सत्कर्मले नयाँ सन्देश दिएको गुरुङले बताए ।
कार्यक्रममा पोखरा जुओलोजिक पार्कका संयोजक हिमालय बख्रेलले प्रकृति संरक्षणको अभियानमा लागेका युवाहरुले समाजलाई नै प्रेरणामूलक सञ्चार प्रवाह गरेको बताए । जलवायु परिवर्तनको असर प्रत्यक्ष रुपमा प्रकृति, पर्यावरण, वन तथा वन्यजन्तुमा पनि पर्ने भएकाले मानवीय स्वार्थमा मात्र सञ् चालित गतिविधिलाई निरुत्साहित गर्न संस्थाले अग्रणी काम गर्नुपर्ने उनले औल्याए । प्लास्टिकजन्य फोहोर प्रदूषणले अझ बढी हानी गर्ने हुँदा त्यस्ता वस्तुको प्रयोगलाई कम गर्दै लैजान अभियानले महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे । प्रकृतिले नै पर्यटकीय सम्भावना दिलाएको मुलुकमा त्यस्ता प्राकृतिक स्थलको संरक्षणका लागि साझा लक्ष्य बोकेर अघि बढ्न उनको सुझाव छ ।
कार्यक्रममा संस्थाको साप्ताहिक सफाई अभियानलाई हौसला प्रदान गर्दै कुशुम कृष्ण आयुर्वेदका सञ्चालक कृष्णबहादुर राउतले नगद ५ हजार सहयोग र केही थान फेस माक्स सहयोग गरेका थिए । युवाहरुमा जागृत सामाजिक गतिविधिलाई प्रोत्साहन स्वरुप सहयोग गरेको राउतले बताए । अभियानलाई निरन्तरता दिन सबै निकायसँग संस्थाले समन्वय गरेर अघि बढ्न उनले आग्रह गरे ।
प्रदेश सभा सदस्य राजीव गुरुङका स्वकीय सचिव रोनित गुरुङले वातावरण प्रदूषणलाई कम गराउन संस्थाले लिएको उद्देश्य प्रेरणादायी भएको बताए ।
हिल हिमालयजका अध्यक्ष रोशन गुरुङले प्रकृति सफाईको अभियानलाई जारी राख्न सयौं अभियन्ताले पु¥याएको सहयोग र दाताहरुको हौसला प्रेरणाको जग भएको बताए । गीतसंगीत मार्फत पनि वातावरण संरक्षणमा सचेतना पुग्ने विश्वास संस्थाले लिएको उनले बताए ।
गीतमा संस्थाका सफाई अभियन्ता आर्सन क्षेत्रीको शब्द तथा आवाज छ । साइमन तझ्याले संगीत भरेको उक्त गीति भिडिओको निर्माण लेबल नेक्स्टले गरेको हो । कृष्णराज गुरुङले भिडिओको सम्पादन गरेका हुन् ।
संस्थाले हालसम्म २८ औं सफाई श्रृंखला सम्पन्न गरिसकेको छ । जसबाट ४१ हजार केजी बढी फोहोर संकलन गरी पोखरा महानगरको डम्पिङ साइटमा व्यवस्थापन भएको संस्थाका सदस्य विश्वास गुरुङले जानकारी दिए ।

Advertisment