फोहोरी झिँगाको कृषिमा उपयोगिता झिँगा पालेरै मासिक डेढ लाख !

भरतपुर, माघ ४ गते । झिँगाको आम बुझाइ रोग फैलाउने र घिनलाग्दो कीरा भन्ने हुन्छ । फोहोरबाट उडेर आएको झिँगाले खाना नै दूषित बनाएको हैरानीमा नपरेका मानिस कमै होलान् ।  गर्मी बढ्दै जाँदा झिँगाले रोग सार्ने चिन्ता उत्तिकै हुन्छ तर यसको व्यवस्थापन गर्न सके झिँगा पनि आम्दानीको राम्रो स्रोत बन्न सक्ने देखिएको छ तर भरतपुर महानगरपालिका–१५ का चन्द्रप्रसाद अधिकारीले झिँगा पालेर राम्रो आम्दानी गरिरहनुभएको छ ।

एक वर्षदेखि व्यावसायिक रूपमा झिँगा पाल्दै आउनुभएका अधिकारी झिँगाबाटै फोहोर नभई मोहोर कमाउन व्यस्त हुनुहुन्छ । उहाँ झिँगा पालेरै आफूले अहिले मासिक डेड लाख रुपियाँको हाराहारीमा आम्दानी गरिरहेकोे बताउनुहुन्छ । “अहिले त झिँगाको बीउ उत्पादनमा भ्याइनभ्याई छ । तीन हजार जति प्युपालाई अहिले १५ हजार रुपियाँको प्याकेज बनाएर किसानलाई बेचिरहेका छौैँ”, उहाँले भन्नुभयो । झिँगा पाल्नकै लागि किसानले खरिद गर्ने गरेको उहाँको भनाइ छ । अहिलेसम्म अधिकारीबाट १० जना किसानले प्युपा खरिद गरी लगेको र अरू सय जना किसानले अर्डर गरेको उहाँले जानकारी दिनुभयो । उहाँले हामीले किसानलाई झिँगा पाल्ने सीपसमेत सिकाएर प्युपा बेच्ने गरेका छौँ भन्नुभयो ।
उहाँका अनुसार झिँगाको प्युपा विशेषगरी बङ्गुर, बिरालो, कुकुर, कुखुरा, माछा लगायतका पशुपन्छी र जलचरका लागि प्रोटिनयुक्त आहारा हो । त्यस्तै यसबाट उत्पन्न हुने फोहोर र झिँगाको दिसा जमिनका लागि नाइट्रोजन बढी दिने प्राङ्गरिक मल हो । यस्तो मलमा तीन प्रतिशतसम्म नाइट्रोजनको मात्रा हुने बताइन्छ । यसै महŒवका आधारमा अहिले झिँगाको प्युपा दानाका लागि प्रतिकिलो १५० रुपियाँ र मल प्रतिकिलो ५० देखि ६० रुपियाँमा बिक्री हुने गरेको छ । “झिँगा पाल्न खर्च धेर छैन तर आम्दानी राम्रै छ”, उहाँले भन्नुभयो, “२० फिट चौडाइ र ३० फिट लम्बाइको कोठामा मिलाएर झिँगा पाले दैनिक एक क्विन्टलसम्म प्युपा उत्पादन गर्न सकिने अधिकारीको अनुभव छ । दैनिक एक क्विन्टल प्युपा उत्पादन गर्ने किसानले मासिक चार लाख ५० हजार रुपियाँको हाराहारीमा आम्दानी गर्ने र त्यसको आधा रकम व्यवस्थापनमा खर्च गरे पनि अरू सहजै बचाउन सक्ने उहाँको अनुभव छ । “झिँगाले दुई दिनमै अन्डा पार्न थाल्छ । अन्डा तीन देखि पाँच दिनमा कोरलिएर लार्भा बन्छ । त्यही लार्भा १० देखि १५ दिनमा प्युपा बन्छ भने त्यो प्युपा २०÷२५ दिनभित्र झिँगा बन्ने गर्छ”, झिँगाको जीवनचक्रबारे जानकारी दिँदै किसान अधिकारीले भन्नुभयो । “झिँगालाई त पानी मात्रै दिने हो, लार्भा र प्युपाका लागि भने कुहिएका र सडेका तरकारी तथा फलफूल आहाराका रूपमा दिनुपर्छ”, उहाँले भन्नुभयो । “अहिले महानगर र नगरपालिकाहरूलाई घरभित्रबाट निस्कने फोहोर व्यवस्थापनमा साह्रै टाउको दुःखाइ छ । त्यही घरभित्रबाट निस्कने कुहिने र सड्ने फोहोर छुट्याएर हामीलाई दिए झिँगा पालेर आम्दानी गरी देखाउने छौँ”, अधिकारीले भन्नुभयो । आफूले भने अहिले आफ्नै करेसाबारीमा निस्किएको घाँसपात कुहाएर झिँगाको प्युपा र लार्भाका लागि आहाराको जोहो गरेको उहाँले बताउनुभयो । झन्डै तीन दशकदेखि प्राङ्गारिक कृषि कर्म गर्दै आउनुभएका पर्माकल्चर (दिगो जीवन पद्धतिमा आधारित कृषि)कर्मी अधिकारीले झिँगा भने एक वर्षदेखि पाल्दै आउनुभएको हो । आजको गोर्खापत्रमा यो समाचार प्रकाशित छ

Advertisment