कोरोना भाइरसविरुद्धको १० लाख मात्राको खोप नेपाल आईपुग्यो

कोरोना भाइरसविरुद्धको १० लाख मात्राको खोप नेपाल आइपुगेको छ । नेपाल सरकारलाई भारत सरकारले अनुदानमा उपलब्ध गराएको ती खोप विहिबारअपराह्न एअर इन्डियाबाट ल्याइएको हो ।

‘कोभिशिल्ड’ नामक उक्त खोपका मात्रा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा मन्त्री त्रिपाठीले भारत सरकारले प्रतिकूलावस्थामा खोप अनुदान सहयोग गरेकामा धन्यवाद दिँदै खोपले अब कोभिड–१९ रोगलाई नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

हस्तान्तरित ती खोपका मात्रा टेकुस्थित स्वास्थ्य सेवा विभागमा रहेको केन्द्रीय भण्डारणमा राखिने छ । भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको उक्त कोभिशिल्ड नामक खोप माइनस दुई डिग्री सेल्सियसदेखि माइनस आठ डिग्री सेल्सियसमा राख्न सकिने जनाइएको छ ।

उक्त पहिलो चरणमा आएको खोप स्वास्थ्यकर्मी, अस्पतालका सरसफाइकर्मी, एम्बुलेन्स चालक, शववाहकलाई उपलब्ध गराइने छ । सो भारतीय राजदूत क्वात्राले खोप उपब्धतासँगै नेपालमा अब कोभिड–१९ महामारी नियन्त्रणमा आउने विश्वास व्यक्त गर्नुभयो ।

Advertisment